दुल्लु दरबारः पुनर्निर्माण गर्नुपर्ने भन्दै अदालतमा रिट

सुर्खेत । दैलेख दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएको भन्दै तीन तहका सरकार विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता शेरबहादुर खत्रीले बुधबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

खत्रीले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, दुल्लु नगरपालिकालाई समेत विपक्षी बनाई परमादेश लगायतको उपयुक्त आज्ञा आदेश जारी पाउँ भन्दै रिट दायर गरेका छन् ।

दुल्लु दरबार दैलेख जिल्लाको दुल्लुमा पर्छ । तत्कालीन खस राजा संसारी बम्मले विं.सं. १३५३ मा स्थापना गरेको उक्त पुरातात्विक महत्त्वको दरबार ०५९ वैशाख ८ गते तत्कालीन माओवादी बिद्रोहीले बम विस्फोट गराएपछि भत्किएको थियो ।

त्यो द्धन्द्धका वेला भत्किएका अन्य ठाउँमा दरबारहरु पुनर्निर्माण कार्य थालनी हुँदा दुल्लु दरबार भने खण्डहर अवस्थामा छ । ‘दुल्लू दरबार क्षेत्रमा भएको ऐतिहासिक र पुरातात्त्विक स्वरुपलाई नबिगारेर पुनर्निर्माण गरी संरक्षित गर्नुपर्छ,’ निवेदनमा भनिएको छ, ‘त्यसका लागि सरकारले स्थानीय समुदायसँग छलफल गरी जतिसक्दो छिटो पुनर्निर्माण गर्नुपर्दछ ।’

तीनवटा भ¥याङ र ५२ वटा झ्याल ढोका भएको दरबार परम्परागत शैलीमा निर्माण गरिएको थियो । दुल्लु राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखि भारतको गडुवालसम्म फैलिएको थियो ।

वाइसे –चौविसे राज्यमा यो राज्य एक राज्यको रुपमा रहेको थियो । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम सम्वत् १९८४ मा दरबारको पुनर्निर्माण गरिएको थियो ।

तत्कालिन दुल्लु राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाइँ जितेर ल्याएको सम्पत्तिबाट दरबारको निर्माण गर्न लगाएको इतिहासका विद्यार्थी भुपाल विक्रम शाह बताउँछन् । दरबारमा दुल्लुका अन्तिम राजा जंगबहादुर शाहले वीरशमशेर राणाकी नातिनी तेजशमशेर छोरीसँग विवाह गरेपछि दुल्लुमा राजकाज चलाएका थिए ।

खस जातीको साझा सम्पत्तिको धरोहरमा रहेको यो दरबारको पुनर्निर्माण गरि खस जातीय संग्राहलय बनाउनु पर्ने दुल्लु नगरपालिका–२ खमबहादुर थापाले बताए ।

व्यक्तिका नाममा दरबार भएकोले पुनर्निर्माणको प्राथमिकतामा नपरेको उनको भनाइ छ । ‘दरबारलाई व्यक्तिको नामबाट राज्यले लिइ पुनर्निर्माण अगाडी बढाउनुपर्छ । नत्र एउटा सम्पदा नै गायब हुन लाग्यो । दरबारमा राज्य र स्थानीय सरकारकारले चासो दिनुपर्छ,’ उनले भने ।

दुल्लु दरबार जंगबहादुर शाहका कान्छा छोरा रिटार्यड जर्नेल दिप्तप्रकाश शाहको नाममा भएकाले पुनर्निर्माणमा ढिलाइ भएको पुरातात्विक विभागले जनाएको छ ।