
काठमाण्डौ । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्न आदेश दिएको छ ।
न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अमेरिका जानुअघि उनीहरु झापाको बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएकाले ती शिविर वा अरु कुनै उपयुक्त ठाउँ तोकी स्थानान्तरण गर्न आदेश दिएको हो ।
अमेरिकाले गएको चैत ११ गते १८ भुटानी शरणार्थीलाई डिपोर्ट गरेको थियो । चार जना डिपोर्ट भएपछि भारत हुँदै भुटान पुगेकोमा भुटानले देश निकाला गरेको थियो ।
उनीहरुलाई अध्यागमन कार्यालय काकडभिट्टाले पक्राउ गरेर इलाका प्रहरी कार्यालयमा हिरासतमा पठाएको थियो ।
अध्यागमनले उनीहरुलाई बन्दीगृहमा राख्नुपर्ने भनेकोमा त्यो कानूनी व्यवस्थाको गलत अर्थ गरिएको सर्वोच्चको ठहर छ ।
सर्वोच्चले उनीहरुविरुद्ध कानून बमोजिम अनुसन्धान कार्य गर्न आवश्यक देखिएमा ६० दिनभित्र अनुसन्धान सक्न पनि आदेश दिएको छ ।
झिल्को खबर । १२ बैशाख २०८२, शुक्रबार ०९:०५