
सुर्खेत । काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी हुन पुगेका कालिकोट जिल्लाका शिक्षकहरूसँग नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले भेट गरेका छन्।
शिक्षकहरूको पेशागत माग, शिक्षा नीतिमा भइरहेको परिवर्तन, समायोजन प्रक्रिया, करार शिक्षकको भविष्य, स्थायीत्वको माग र हालको आन्दोलनप्रति सरकारले लिएको रवैयालाई लिएर चासो व्यक्त गर्दै सांसद शाहीले शिक्षकहरूलाई धैर्य र एकता कायम राख्न आग्रह गरे।
“शिक्षा क्षेत्रमाथिको हस्तक्षेप र अन्यायपूर्ण नीतिका विरुद्ध तपाईंहरूको आवाज जायज छ। म सांसदको हैसियतले संसदभित्र र बाहिर जहाँसुकै तपाईँहरूको पक्षमा उभिनेछु,” सांसद शाहीले शिक्षकहरूलाई प्रतिवद्धता जनाउँदै भने।
शिक्षकहरूले भने आफूहरू शान्तिपूर्ण तरिकाले आन्दोलनमा बसेको र सरकारबाट संवादको पहल नहुँदा थप निराशा बढेको गुनासो गरे। उनीहरूले कालिकोटको सन्दर्भमा शिक्षाको गुणस्तर, भौतिक पूर्वाधारको अभाव, जनशक्ति व्यवस्थापनको चुनौती र विकटताका कारण थप अप्ठ्यारो परेको बताए।
शाहीले आन्दोलनरत शिक्षकहरूको माग जायज भएको भन्दै शिक्षालाई राजनीतिक लाभको विषय नबनाउन सरकारलाई आग्रह गर्ने बताए। साथै, उनले विद्यालय शिक्षामा व्यापक सुधार ल्याउन शिक्षकहरूको योगदानको कदर गर्नुपर्ने र दीर्घकालीन समाधानका लागि प्रभावकारी संवाद आवश्यक रहेको धारणा व्यक्त गरे।
झिल्को खबर । १२ बैशाख २०८२, शुक्रबार २१:५५