निजामती ऐन

सपनाहरूको मणिमय महल रच्दै आएँ यो पथमा,
समर्पण र त्यागको अग्निकुण्डमा जलेर जीवन दिएँ राष्ट्रसेवामा।
समायोजनको मोहजालमा फसेँ, संघीयताको सौन्दर्य देखेर,
तर आज बाटो बिरानो लाग्दछ, श्रेष्ठताको कुहिरोमा हराएर।

विनाश्रित व्यवस्थापनको विषचक्रले, विभाजित ग¥यो एउटै परिवार,
उच्च–निम्न, श्रेष्ठ–कनिष्ठ, केन्द्र–परिधि, संस्कृतिले दिएको दंश अपार।
सम्मोहनको सागरमा डुब्दै गयो, मेरो आत्मसम्मानको अस्तित्व,
कस्तो विडम्बना! एउटै निकायका हामी, अहिले भिन्नभिन्न अस्मिता र स्थित्व।

शाश्वत शिलालेखमा कुँदिएका थिए हाम्रा कर्तव्य र दायित्व,
अखण्ड अभियानमा एकाकार थियौँ, एउटै अभिलाषा र चाहना।
आज किन वर्गीकृत हुन परेको? तहगत श्रेष्ठताको अहंकारमा,
संघीयताको सर्वोपरिताको नाममा, किन जलिरहेको छु प्रतिष्ठाको चिताधरामा?

अवरोधको अन्धकारमा पनि, वृत्ति विकासको ज्योति देखेको छु,
आशाको आरोहणमा, सुनौलो भविष्य निहालिरहेको छु।
तर मान्यवरको मनसायले चल्ने प्रशासनमा, विशुद्ध व्यावसायिकता कहाँ छ?
राजनैतिक रंगमञ्चको नाटकमा, मेरो निष्पक्ष भूमिका कहाँ छ?

संवैधानिक संरचनामा उभिएर, पूर्ण प्रतिबद्धता जनाउँछु,
विविधतामा एकता कायम गर्दै, अखण्ड सेवामा समर्पित हुन्छु।
तर विभेदको विषवृक्ष हैन, अवसरको अमृतधारा खोज्छु,
समता, सद्भाव र सहअस्तित्वको परिवेशमा, पूर्ण क्षमता विकसित गर्न खोज्छु।

अन्तर्मनको अनन्त आकाशमा, असीम आकांक्षा पल्लवित छन्,
निर्विवाद निष्पक्ष नीतिको आधारमा, वृत्ति विकासका सपना सजिएका छन्।
एकीकृत प्रशासनिक परिवेशमा, व्यावसायिक उत्कर्षता चाहन्छु,
समानुपातिक सम्मान र समावेशी समग्रतामा, सन्तुष्टिको स्वाद लिन चाहन्छु।

प्रतिबिम्बित हुन्छ मेरो प्रतिभा, निष्पक्ष मूल्यांकनको प्रकाशमा,
विकसित हुन्छ मेरो क्षमता, समतामूलक अवसरको परिवेशमा।
जब सुनिश्चित हुन्छ मेरो भविष्यको आधार, बिना पूर्वाग्रह र पक्षपात,
तब मात्र सार्थक हुन्छ संघीयता, र समृद्ध हुन्छ हाम्रो राष्ट्र–निर्मात।

राजनीतिक रंगको राग हैन, कर्तव्यको कलरवमा बाँच्न चाहन्छु,
तहगत तारतम्यको बन्धन हैन, स्वतन्त्र स्वभिमानको स्वर उच्चारण गर्न चाहन्छु।
स्वच्छन्द सरुवाको सत्ता हैन, योग्यतामा आधारित व्यवस्था चाहन्छु,
प्रशासनिक पूर्वाग्रह होइन, प्रतिभाको पूर्ण प्रस्फुटन चाहन्छु।

प्रष्ट चाहन्छुः म कुन श्रेणीको कर्मचारी हुँ, राज्यको नजरमा?
समायोजितको संज्ञामात्र हो कि, मेरो अस्तित्व र पहिचान?
आज जुन जिम्मेवारी पाएको छु, त्यही श्रेष्ठताको शिखर हो मेरो,
तर अवसरको सम्मान चाहन्छु, जुन मेरो योग्यता र क्षमताको परिचायक हो।

विभाजनको विषवृक्ष हैन, अखण्ड अवसरको अमृतधारा बगोस्,
तहगत विभेदको अन्धकार हैन, समानताको सूर्य सदा चम्कोस्।
संघीयताको सौन्दर्य यही हो, विविधतामा एकता कायम रहोस्,
निजामती ऐनमा यस्तै व्यवस्था होस्, जहाँ सबैलाई न्याय र समानता मिलोस्।….

लेखक ई.रावल कर्णाली सरकारका सिनियर डिभिजनल इन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्ः विभेदको विषवृक्ष होइन, अवसरको अमृतधारा बनोसः निजामती ऐन