आग्रह, पूर्वाग्रह राखेर, बार्गेनिङ गरेर लेखिने समाचारको विरुद्धमा कानूनी उपचारमा जान्छुः नगर प्रमुख शाही

सुर्खेत । कालिकोट रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही ‘पोषण’ले आग्रह पूर्वाग्रह राखेर बार्गेनिङ गरी लेखिने समचारका विरुद्धमा कानूनी उपचारमा जाने बताएका छन् ।

मंगलवार एक अनलाइन मिडियाले आफ्नो नाम पार्टीको माथिल्लो नेतृत्वसँग जोड्दै प्रकाशित गरिएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नगर प्रमुख शाहीले सामाजिक संजाल फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन् ।

उनले अगाडी लेखेका छन् ‘उक्त समाचारमा म माथि गत स्थानीय तहको निर्वाचनमा आर्थिक लगानी गरेर निर्वाचित भएको, सामुदायिक विद्यालयहरूबाट कमिशन संकलन गरेको भन्ने जस्ता कपोकल्पित, आधारहीन, भ्रामक र नियोजित आरोपहरू लगाइएकोप्रति म घोर आपत्ति प्रकट गर्दछु ।’

‘रास्कोट नगरपालिकाले पछिल्लो समय सञ्चालन गरेका लोकप्रिय, जनमुखी र दीर्घकालीन असर पार्ने ऐतिहासिक कामहरूप्रति जनसमुदायबाट प्राप्त व्यापक समर्थन देखेर अत्तालिएका केही स्वार्थ समूह र व्यक्तिहरूले नियोजित ढंगले नगर सरकार र यसको नेतृत्वको छवि धूमिल गर्न यस्ता हर्कत गरिरहेको स्पष्ट देखिन्छ भन्दै यस्ता कार्यहरू पहिले पनि भएका थिए, अहिले पुनः त्यसै प्रकारको मनगढन्ते कथा बनाइ पत्रकारिताको नाममा चरित्र हत्या प्रयास हुनु अत्यन्तै निन्दनीय छ। उनले भनेका छन् ।

म स्पष्ट रूपमा भन्न चाहन्छु ‘यदि कसैसँग मसँग आर्थिक लेनदेन गरेको प्रमाण स्वरूप नगद, चेक, अडियो, भिडियो वा अन्य कुनै दस्तावेज छ भने, म ती प्रमाणहरू सार्वजनिक गर्न चुनौती दिन्छु नगर प्रमुख शाहीले फेसबुकमा लेखेका छन् । यदि मैले कुनै गल्ती गरेको प्रमाणित भएमा म कानुन बमोजिम सजाय भोग्न तयार छु । साथै म सम्बन्धित निकाय समक्ष मेरो पक्षबाट छानबिन गरियोस् भन्ने अनुरोध पनि गर्दछु उनले भनेका छन् ।

तर, जब व्यक्तिगत लाभ वा स्वार्थका लागि अस्वाभाविक मागहरू पूरा नहुँदा, ती व्यक्तिहरूले पूर्वाग्रहपूर्ण ढंगले आरोप लगाउने, काल्पनिक समाचार तयार गर्ने र सार्वजनिक रूपमा चरित्र हत्या गर्ने काम गरिन्छ, त्यसले सम्पूर्ण पत्रकारिता क्षेत्रकै विश्वसनीयता र मर्यादामा आँच पुग्ने गर्दछ। त्यसैले, आग्रह, पूर्वाग्रह राखेर, बार्गेनिङको आधारमा लेखिने यस्ता भ्रमपूर्ण समाचारहरूप्रति म अब कानूनी उपचारमा जाने निर्णयमा पुगेको छु।

म रास्कोट नगरपालिकाको तर्फबाट विगतमा गरिएका र हाल सञ्चालनमा रहेका विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासन सम्बन्धी कार्यहरूबारे जनताले साक्षी बसेका छन्। त्यसैले कुनै पनि व्यक्तिले नियोजित रूपमा तथ्यविहीन प्रचार गरेर जनमत भ्रमित गर्न खोज्ने प्रयासहरू सफल हुन सक्दैनन् भन्ने मेरो दृढ विश्वास छ।