
काठमाण्डौ । आज दिउँसो प्रज्ञा प्रतिष्ठान भवनमा जनमत पार्टीसँगको एकीकरण घोषणाको तयारी भइरहँदा पक्राउ पर्नुभएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेमश चौधरी रिहा हुनुभएको छ ।
चौधरीलाई पक्राउ गर्न प्रहरीले प्रयोग गरेको सर्वोच्च अदालतको भनिएको पत्र नै अनधिकृत रहेको पाइएपछि चौधरी आजै रिहा हुनुभएको हो । बिहान सर्वोच्च अदालतले चौधरीलाई थुनामा पठाउन पत्र काटेको भन्दै प्रहरीले दिउँसो पक्राउ गरी चौधरीलाई डिल्लीबजार कारागारमा पठाएको थियो ।
तर सर्वोच्च अदालतमा यो विषयमा तत्काल कुनै पनि न्यायाधीशबाट आदेश नभई कसरी पत्र गयो भनेर हल्लाखल्ला भयो । सर्वोच्च अदालतले अनधिकृत पत्र गएको निष्कर्षसहित पत्र पठाउने सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीको जिम्मा लगाइदियो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति निकालेर सर्वोच्चका कर्मचारीबाट अनधिकृत पत्र लेखेको जानकारी गराउनुभएको छ । विज्ञप्तिमा अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया शुरू भएको उल्लेख छ ।
चौधरीलाई प्रहरीले पक्राउ गरेपछि जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा कार्यक्रम स्थगित भएको छ । कमलादीमा रहेको प्रज्ञा भवनमा एकता घोषणाको तयारी भइरहँदा कार्यक्रम स्थलबाटै चौधरी पक्राउ परेपछि घोषणा स्थगित गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिनुभयो ।
झिल्को खबर । १७ बैशाख २०८२, बुधबार २१:२४