रुकुम पश्चिमको सानीभेरीमा एक घरमा आगलागी हुँदा नगदसहित लाखौको सामान जलेर नष्ट

सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –५ घापागारमा एक घरमा आगलागी भएको छ ।

बिहिबार बेलुका स्थानीय मनविर खत्रीको दुई तले घरमा आगलागी हुँदा नगद रुपिँयासहित घरायसी सामाग्री जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार खरले छाएको ढुङगा माटोले बनेको कच्चि घरमा खाना पकाउने क्रममा एक्कासी आगलागी भएको हो । आगलागीबाट घरमा रहेको अन्नपात, कागजपत्र, लत्ताकपडा, भाडावर्तन र घरमा रहेको नगद रकम समेत जलेर क्षति भएको छ ।

यसका साथै घर पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त आगो सवा एक घण्टापछि नियन्त्रणमा आएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो।

सोहि वडाका वडा अध्यक्ष मोतिराम खत्रीले आगलागीको खबर प्रहरीलाई गराउनु भएको र क्षतिको विवरण संकलन भईरहेको बताईएको छ । वडा अध्यक्ष खत्रीका अनुसार पीडित खत्रीको घरमा राखिएको तीन लाख रुपियाँ पनि जलेको छ । आगलागीबाट मानविय र पशुचौपायको क्षति भने भएको छैन ।