
सुर्खेत । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगद्वारा प्रदान गरिने पत्रकारिता पुरस्कार वितरणमा पक्षपात र विभेद भएको भन्दै प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेस सेन्टर नेपालले बुधबार वितरण गरिएको पुरस्कार प्रक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज (बुधबार) सञ्चार मन्त्रालय तथा सूचना आयोगले पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई विभिन्न शीर्षकमा पुरस्कार वितरण गरेका थिए। तर उक्त पुरस्कार वितरणमा दलगत र विचारधारात्मक आधारमा विभेदपूर्ण ढंगले छनौट भएको आरोप लगाउँदै प्रेस सेन्टर नेपालले यस प्रकारको कार्यले समावेशी, स्वतन्त्र र निष्पक्ष पत्रकारिता अभ्यासमा प्रश्न उठाएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “संविधानको मर्म विपरित गैरन्यायिक ढंगले गरिएको छनौटप्रति प्रेस सेन्टर नेपाल गम्भीर ध्यानाकर्षण गर्दछ।” साथै, संस्थाले निष्पक्ष पत्रकारलाई पाखा लगाएर पूर्वनियोजित ढंगले गरिएका निर्णयहरूप्रति गहिरो असन्तुष्टि व्यक्त गरेको छ।
प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तिमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी दिनमा यस किसिमका पूर्वाग्रही निर्णय रोक्न सरकार र सम्बन्धित निकायलाई सचेत रहन आग्रह गरिएको छ। साथै, निष्पक्ष मूल्यांकन र प्रतिनिधित्व सुनिश्चित नगरी प्रदान गरिने पुरस्कारले पत्रकारिताको मूल मर्म र मूल्यलाई नोक्सान पुर्याउने चेतावनी समेत दिइएको छ।
अन्त्यमा, विज्ञप्तिमा भनिएको छ, “सञ्चार मन्त्रालय र सूचना आयोगबाट पुरस्कार प्राप्त गर्ने सम्पूर्ण पत्रकारहरूलाई प्रेस सेन्टर नेपाल बधाई ज्ञापन गर्दछ।”
झिल्को खबर । २४ बैशाख २०८२, बुधबार २२:१३