
दैलेख । दैलेखका राजनीतिक दलले स्थानीय सरकारलाई विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।
विश्व रेडक्रस दिवसका अवसरमा दैलेख सदरमुकाममा नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले पछिल्लो समयमा रेडक्रसले सामाजिक क्षेत्रमा थुप्रै काम गरेको बताए । विपत् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा सबैले ध्यान दिनुपर्ने बताए । समन्वय समितिका प्रमुख शाहीले आउँदा दिनमा अझै रेडक्रसलाई अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मयाराम अधिकारीले जिल्लामा रक्त सञ्चारको स्थापना भएकोमा खुसी व्यक्त गरे। जिल्लामा रगतको अभावमा बिरामीको ज्यान जाने अवस्था आउँ नदिनका लागि आकस्मिक रक्त सञ्चार सेवा सञ्चालन हुनु खुसीको कुरा रहेको बताए । यस्तै नेकपा एमालेका अध्यक्ष सूर्यबहादुर शाहीले रेडक्रसले दैलेख शाखाले गरेका काम प्रशंसनीय रहेको बताए । उनले राजनीतिक दलले सक्ने सहयोग निरन्तर रहने बताए । रेडक्रसले दैलेखका पालिकामा अझै सेवा विस्तार गर्नुपर्ने उनले बताए ।
नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले रेडक्रसले सामुदायिक र सरसफाइको क्षेत्रमा भने जस्तै काम गरेको बताए । नगरपालिकाले आँखा अस्पताल सञ्चालनका लागि पहल गरिएको उनले बताए । कार्यक्रममा नेपाली कांगे्रसका सभापति मणिराम रेग्मीले रेडक्रसले जिल्लामा सामाजिक क्षेत्रमा भने जस्तै काम गरेको बताए । दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले विपत् व्यवस्थापनमा सबैलाई ध्यान दिन आग्रह गरे।
झिल्को खबर । २६ बैशाख २०८२, शुक्रबार ११:३९