पश्चिम सुर्खेतको घाटगाउँ देखि कुल्लीमारी सडक कालोपत्रे हुँदै

 

सुर्खेत, पश्चिम सुर्खेतको घाटगाउँ देखि कुल्लमारी सम्मको सडक कालोपत्रे हुने भएको छ । ट्र्याक खोलिएको झण्डै तीन वर्षपछि नै सडक कालोपत्रेको काम अघि बढेको हो । मंगलबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले सडक कालोपत्रेको शिलान्यास गरेका छन् ।

लामो समयदेखि टेण्डर भए पनि आर्थिक बर्ष ०७५÷०७६ मा सडकको ट्याक खोलिएको थियो । १३.७६२ किलोमिटर उक्त सडक चौकुने गाउँपालिका–१० को घाटगाउँ स्थित भेरी नदीको पुलबाट सुरु भएर गुटु बजार, साल्मा कोरालबास हुँदै कुल्लीमारी सम्म कालोपत्रे हुने भएको छ ।

उक्त सडकले सुदूरपश्चिमका अछाम र कैलालीलाई जोड्ने छ । संघ र प्रदेश सरकारको संयुक्त लगानीमा कालोपत्रे गर्न लागिएको उक्त सडकको कुल लागत ६३ करोड ५ लाख १४ हजार ५१३.४० रुपैयाँ रहेको छ।

उक्त सडकको कालोपत्रेको काम श्रेष्ठ कन्स्ट्रक्सन प्रालि काठमाडौंले ३९ प्रतिशत घटेर ३८ करोड ५६ लाख ३९ हजार ५३५.७० रुपैयाँमा काम सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको छ ।
सडक कालोपत्रेको काम २ बर्षमा सम्पन्न गरी सक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । २०८१ असार २४ गते सम्पन्न गर्ने गरी जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले सडक कालोपत्रेको जिम्मा गत असार ८ गतेदेखि पाएको हो ।

सडकमा अहिलेसम्म ३ करोड ४२ लाख बराबरको बजेट खर्च भइसकेको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले बताए । उनका अनुसार सडकको चौडाइ १० मिटर र कालोपत्रे सडकको चौडाइ ७ मिटर रहने छ । यो सडको कालोपत्रे हुने भएपछि यहाँका स्थानीय बासी खुसि छन् ।

पश्चिम सुर्खेतको घाटगाउँ देखि कुल्लीमारी सडकको सिल्यान्यास गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमा विष्ट

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले सकेसम्म यही आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । अहिले संघीय सरकारको पनि लगानी रहेको यो सडकमा यो आर्थिक बर्षमा सपन्न गर्दा प्रदेश सरकारलाई आर्थिक भार नपर्ने भन्दै मन्त्री विष्टले निर्माण कम्पनिले जति सक्दो काम छिटो गर्नेमा आफु विश्वस्त रहेको बताए ।

कर्णालीमा काम गर्न आउने तर तोकिएको समय सिमा भित्र काम सम्पन्न नगरी धेरै ठेकेदार कम्पनीहरु यहाँबाट भाग्ने गरेको भन्दै मन्त्री विष्टले भने,‘ठेकेदार कम्पनीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्दा एकातिर रकम खेर गइरहेको छ, भने अर्कोतिर नागरिकले विकास र परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । ठेकेदार कम्पनीले काम गर्दैनन्, तर दोष सरकार र सम्बन्धित क्षेत्रका नेतालाई लाग्ने गर्दछ ।’

मन्त्री विष्टले चौकुनेबासीको लागि सुखको सडक भएको बताए । ‘यदि यो सडक निर्माण सम्पन्न भयो भने यहाँको आर्थिक र व्यापारिक क्षेत्र पनि फराकिलो हुने छ,’उनले भने,‘ गुटुभन्दा माथिको सडको जिम्मा वेतन कर्णाली हाइड्रो पावरले काम गर्ने भएकोले अहिले उक्त सडको काम प्रदेश सरकारले नगरेको हो ।’

पश्चिम क्षेत्रका सबै सडकहरूको स्तरोन्नति र कालोपत्रेको लागि टेण्डर आह्वान भइसकेकाले आगामी पाँच वर्षभित्र सडक पूर्वाधारका विकास सम्पन्न भइसक्ने बताए । पश्चिम क्षेत्रकै सबैभन्दा विकट मानिने तरङ्गामा सडकको विकासका लागि हुड्के–तरङ्गा सडक खण्डमा १ अर्ब बजेट विनियोजन भएको मन्त्री विष्टले बताए ।

२०७४ सालको निर्वाचनमा बाचा गरे अनुसार नै आफुले यो क्षेत्रको लागी काम गरको भन्दै मन्त्री विष्टले आउने निर्वाचनमा जुनसुकै पार्टीको उम्मेदवार जो सुकै व्याक्तिले भोट माग्दा अब पश्चिम सुर्खेतको लागी सडक र विजुली वत्तिको लागी भोट माग्नु पर्ने अबस्था नरहेको सेमेत उल्लेख गरे ।