
सुर्खेत । राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक अन्तर्गत बालुवा खोला र गोठिज्यूला पक्की पुल अलपत्र परेका छन् । विभिन्न जोखिमयुक्त स्थानमा १० वटा पक्की पुल निर्माण थालिएकोमा दुईवटा अलपत्र परेका हुन् ।
जग्गा विवादका कारण दुईवटा पक्की पुल वर्षौंदेखि अलपत्र अवस्थामा छन् । नाग्म–गमगडी सडकको प्रवेश विन्दु कालिकोटको तिलागुफा नगरपालिका र जुम्लाको हिमा गाउँपालिकाको सीमा क्षेत्र बालुवा खोला र कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठिज्युला खोला पुल जग्गा विवादले अलपत्र परेका हुन् । सडक विभागको ३२ करोड लगानीमा नाग्म–गमगडी सडकमा १० वटा पुल निर्माण हुदैछन् । यीमध्ये दुईवटा करिब चार वर्षयता अलपत्र अवस्थामै छन् । बालुवा खोलामा हिमा गाउँपालिकातर्फ पिल्लर खडा भएको वर्षौं भइसक्यो । पिल्लरका सरियामा खिया लागिसकेको छ । कालिकोटतर्फको जग्गाधनीले जग्गा दिन नमानेपछि पुल निर्माण अघि बढ्न सकेको छैन ।
सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार जग्गाधनीसँग पटक–पटक भएको छलफल निष्कर्षविहीन भएको छ । उनले मुआब्जाको माग राखेकोले पुल निर्माण रोकिएको हो । म आइसकेपछि पनि तीन पटक छलफल भइसक्यो । तर टुंगो लागेको छैन, चौधरीले भने, मुआब्जा नभई जग्गा नदिने जग्गाधनीको अडान छ । मन्त्रीपरिषद्को निर्णयबिना मुआब्जा दिन मिल्दैन । हामीले लेखेर विभागमा पठाएका छौं ।
बर्खाको सिजन आइरहेकोले खोलामा पानीको बहाव बढेर सवारीसाधन नै बगाउने जोखिम छ । तर, ठेक्का भइसक्दा पनि जग्गा नमिल्दा पुल निर्माणमा सकस भएको छ । उता कनकासुन्दरी–६ स्थित गोठिज्यूला खोलामा बन्ने २० मिटर लामो पक्की पुल पनि अलपत्र अवस्थामा छ । पुल बनाउँदा खत्याड जाने बाटो बन्द हुने र केही घर भत्काउनुपर्ने भएकोले स्थानीयले जग्गा दिन मानेका छैनन् । डिभिजन प्रमुख चौधरीका अनुसार अब २० मिटर लामो पुलको डिजाइन फेरेर ५ मिटरमात्रै लामो हुनेगरी निर्माण गर्ने तयारी छ । कुल ३२ करोड लागतमा विभिन्न खोलामा निर्माण भइरहेका अन्य ८ पुल भने अन्तिम चरणमा पुगेका छन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले आफू निर्वाचित भएदेखि नै जग्गा विवाद सल्टाउन प्रयास गरे पनि सम्भव नभएको बताए । सडक डिभिजन र निर्माण व्यवसायी यसमा जवाफदेही हुन नसकेको उनको तर्क छ ।
जग्गा विवादले पुल निर्माण रोकिएपछि हिमा गाउँपालिकाले आफ्नै लगानीमा रारा जाने पर्यटकको राहतका लागि काठेपुल बनाएको छ । सडक डिभिजन जुम्लाका तत्कालीन प्रमुख दिपेन्द्र विष्टले पनि विवादित बालुवा खोला पुल निर्माण अघि बढाउन पहल नगरेका होइनन् । केही स्याउ र ओखरका बिरुवा भएको जग्गा मुआब्जा नपाए नदिने जग्गाधनीको अडानले पुल निर्माण प्रभावित भएको उनले बताए । मुआब्जा नपाएसम्म जग्गा नदिने जग्गाधनी पहिलेबहादुर रावतको अडानले काम अघि बढ्न सकेन । रावतले गत वर्षको छलफलमा २५ लाखसम्म मुआब्जा दिनुपर्ने माग राखेका छन् । त्यो रकम निर्माण व्यवसायी र सडक डिभिजनले दिन सक्ने अवस्था छैन । कालिकाखेतु खोला, बाजागाडा खोला, विष्टबाडा खोला, रोकायाबाडा, पिना खोला र गमगाड खोलाको पक्की पुल निर्माण भने धमाधम भइरहेको छ । विष्टबाडाको पुल निर्माण सम्पन्न भई सञ्चालनमा समेत आइसकेको छ ।
२०७८ फागुन ९ गते ठेक्का सम्झौता भई २०८२ साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि दुईवटा पुल अलपत्र भएकोले म्याद थप्नुपर्ने अवस्था आएको सडक डिभिजन जुम्लाले जनाएको छ । हिम सगरमाथा कन्स्ट्रक्सनले ३२ करोड लागतमा निर्धारित समयमै सम्पन्न गर्ने गरी १० वटै पक्की पुलको ठेक्का पाएको छ । आठमध्ये सात पुलको भौतिक प्रगति करिब ७० प्रतिशत छ । मौसम प्रतिकूलता, जनशक्ति अभाव, निर्माण सामग्री अभाव, बजेट अभाव तथा कठिन भूगोलका बीच पनि निर्माण कार्यलाई गति दिइरहेको निर्माण कम्पनीको तर्क छ । मुख्य समस्या भने विवाद निष्कर्षमा नपुग्नु रहेको कम्पनीको भनाइ छ । बर्खामा खोलामा बाढी आएर यातायात नै अवरुद्ध हुनुका साथै बाइकसमेत बगाउने समस्या नागरिकले भोग्दै आएका छन् ।
९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी सडकका विभिन्न खण्डमा पक्की पुल बनेपछि यात्रा सहज हुने स्थानीयको आशा छ । सबैभन्दा जोखिमयुक्त बालुवा खोला र गोठिज्यूलामा जग्गा विवादले पुल निर्माण रोकिँदा यो बर्खामा पनि पहिलेकै जस्तो सास्ती भोग्नुपर्ने निश्चित भएको छ । निर्माण व्यवसायी, सम्बन्धित दुई पालिका, सडक डिभिजन र प्रशासनले निर्णायक छलफल गरी जग्गा विवाद टुंग्याएर पुल निर्माण अघि बढाउनुपर्ने नागरिकको माग छ ।
झिल्को खबर । ५ जेष्ठ २०८२, आईतवार १७:३८