नेपाललाई ऐतिहासिक सफलता, पहिलो पटक ग्लोबल क्वालिफायरमा प्रवेश

नेपाल आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्वालिफायरमा ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको छ । सोमबार सम्पन्न सुपर थ्री चरणको पहिलो खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।

पहिलो चरणबाट तीन समुहको समूह विजेता सुपर थ्रीमा छनोट हुने प्रावधान अनुसार नेपाल, थाइल्याण्ड र युएई अघि बढेका थिए । सुपर थ्रीका शीर्ष दुई टिम ग्लोबल छनोटमा पुग्ने नियम अनुसार नेपाल र आयोजक थाइल्याण्ड छनोट हुन सफल भएका हुन् । हिजो थाइल्यान्डसँग पराजित भएको र आज नेपालसँग पनि हारेपछि युएईको सम्भावना समाप्त भयो ।

आजको जितमा नेपालले एक खेल अगाडि कुल ७ अंक बनायो । थाइल्याण्डले पनि एक खेल अगाडि ८ अंक जोडेको छ। यूएईले भने सबै खेल सकिंदा ६ अंक मात्र बनायो ।

यसअघि नेपालले ग्रुप ‘सी’ बाट ५ अंक बनाउँदा थाइल्याण्ड र युएईले आ–आफ्नो समुहबाट ६÷६ अंक जोडेर सुपर थ्रीमा स्थान बनाएका थिए । टेर्डथाई क्रिकेट मैदानमा आज नेपालले जितको लागि १ सय १५ रनको चुनौति १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

ओपनर राजमति ऐरी ८ रनमा र सम्झना खड्का २१ रनमा आउट भए । कविता कुँवर यो खेलमा पनि क्रिजमा टिक्न सकिनन् । उनी मात्र ५ रनमा आउन भइन् । ३८ रन जोड्दा नेपालले ३ विकेट गुमाइसकेको थियो ।

यसपछि कप्तान इन्दु वर्मा र उपकप्तान पुजा महतो क्रिजमा थिए । यी दुईले पनि ठुलो साझेदारी गर्न सकेनन् । चौथो विकेटको लागि २४ रनको साझेदारी गर्दै पुजा १३ रनना पबिलियन फर्किइन् ।

पुजा आउट भएपछि पुर्व कप्तान रूविना क्षेत्रीले इन्दुलाई साथ दिइन् । यी दुईले पाँचौं विकेटको लागि ३७ रनको साझेदारी गरे। रुबिना १८ बलमा ३ चौका सहित २३ रन जोडेर आउट भइन् ।

कप्तान इन्दुले सर्वाधिक अविजित ३० रन बनाएर नेपालको जित सुनिश्चित गरिन् । उनले २८ बल खेल्दै २ चौका प्रहार गरिन् । बलिङमा मिचेली बोथा, सुरक्षा कोथे, वैश्नवी महेश र इशा ओजाले १÷१ विकेट लिए ।

यसअघि टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल खडा गर्यो ।

ओपनरद्वय इशा ओजा र तिर्था सतिशले पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरे । तिर्था २१ रनमा राजमति ऐरीको बलमा आउट भइन् । पहिलो विकेट झार्न नेपालले १० औं ओभर कुर्नुपरेको थियो । इशाले २ चौका र १ छक्का सहित ३९ रन बनाइन् । यस्तै हिना होटचान्डीले २० र लाभान्या केनीले १२ रन बनाए।

बलिङमा मनिषा उपाध्यायले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट झारिन्। कविया कुँवरले २ र राजमतिले१ विकेट लिइन्।

अब नेपाल र थाइल्याण्डबीच एसिया क्वालिफायरको अन्तिम खेल भोलि हुनेछ।

ग्लोबल क्वालिफायरमा कुल दश राष्ट्रबीच विश्व कप प्रबेशको लागि प्रतिस्पर्धा हुनेछ । एसियाबाट नेपाल र थाइल्याण्डसँगै अमेरिकाजबाट युएसए र २०२४ को विश्वकपबाट स्कटल्याण्ड र बङ्गलादेशले ग्लोबल क्वालिफायर खेल्ने निश्चित भएको छ । अब युरोपबाट २, अफ्रिकाबाट २ र इस्ट एसिया प्यासिफिकबाट १ गरी ५ राष्ट्र छनोट हुनेछन् ।

ग्लोबल छनोटबाट ४ राष्ट्र सन् २०२६ को जुनमा इङ्गल्याण्डमा हुने विश्वकपको लागि छनोट हुनेछन् । ग्लोबल छनोटमा सहभागी टिमहरुलाई २ समूहमा विभाजन गरेर हरेक समूहबाट शीर्ष २ टोली अघि बढ्नेछन् । ग्लोबल छनोटको मिति र स्थान पक्का भएको छैन ।