
प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबारको निर्णायक सहमतिसँगै अर्थशास्त्री डा. विश्वनाथ पौडेल मन्त्रिपरिषद् बैठकबाट नयाँ गभर्नर नियुक्त भएका हुन् । यसअघि गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको दुईपटक पुनर्गठन र दुवैपटक उम्मेदवार परिवर्तन भएका थिए । गभर्नर नियुक्तिमा देखिएको चलखेल र भएको ढिलाइको असर समग्र अर्थतन्त्रमै परेको थियो ।
२२ चैतमा रिक्त गभर्नर पदपूर्ति गर्न सत्तासाझेदार दुई दलका प्रमुख नेता ओली र देउवाबिच यसबिचमै पटक–पटक भेटवार्ता भए पनि सहमति जुटेको थिएन । उनीहरूबिच राजनीतिक भागबन्डामा गभर्नर कांग्रेसले लिने सहमति थियो । त्यससँगै सभापति देउवाले राष्ट्रबैंकका कार्यकारी निर्देशक भट्टलाई पहिलो उम्मेदवारका रूपमा सिफारिस गरेका थिए । तर, कार्यकारी निर्देशकबाट उनले दिएको राजीनामा डेपुटी गभर्नर निलम ढुंगानाले स्वीकृत गरिनन् ।
यसबाहेक भट्टका विषयमा सर्वोच्च अदालतमा रिट परेपछि देउवा हच्किएका थिए । भट्टलाई गभर्नर बनाउने विषयमा राजनीतिक, कानुनी र प्रशासनिक जटिलता बढेपछि सभापति देउवाले २८ वैशाखमा पौडेलको नाम विकल्पका रूपमा सिफारिस गरेका थिए । उनी ०७९ को संघीय निर्वाचनमा चितवन–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार थिए ।
१० दिनसम्म पनि उनको नाम अघि नबढेपछि मंगलबार प्रधानमन्त्री ओली र देउवाबिच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा एक घण्टा निर्णायक वार्ता भयो । र, त्यही वार्तापछि पौडेलको नाम टुंगो लाग्यो । भट्टलाई तत्काल नियुक्ति नगरे यसले सत्तासमीकरणमै प्रभाव पार्न सक्ने देउवाको चेतावनी थियो ।
ओली र देउवाबिच निर्णायक सहमति भएलगत्तै बेलुकी ४ बजे अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समिति बैठकले पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । त्यसलगत्तै, साँझ ६ बजे बसेको बैठकले उनलाई गभर्नर नियुक्त गरेको हो ।
सत्तारूढ दुई दलबिच गभर्नर नियुक्तिमा डेढ महिनामा ठुलै रस्साकस्सी चल्यो । यहाँसम्मकी कांग्रेस महामन्त्री गगन थापाले त गभर्नर नियुक्तिका लागि बिचौलियाहरूले प्रधानमन्त्रीको बेडरुमसम्मै पहुँच पु¥याएकोसम्म आरोप लगाए । दुई दलबिचको सार्वजनिक असन्तुष्टि र ढिलाइको ‘साइड इफेक्ट’ले सरकार ढल्ने र गठबन्धन नै भत्कनेसम्मको चर्चा पनि चुलियो ।
सोमबार नियमित रूपमा बस्नुपर्ने मन्त्रिपरिषद् बैठक र सोही दिन प्रधानमन्त्री ओली तथा कांग्रेस सभापति देउवाबिच हुने भनिएको भेटवार्ता गभर्नरमा सहमति हुन नसकेकैले अचानक स्थगित भएको सूचना बाहिरियो । अस्वस्थताका कारण मन्त्रिपरिषद् बैठक स्थगित भएको र मंगलबार प्रधानमन्त्री संसद्मा सांसदहरूले उठाएको प्रश्नोत्तरमा सहभागी हुन नसक्ने जानकारी प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी बाहिर ल्याएको थियो । तर, त्यही समयमै अस्वस्थ भनिएका प्रधानमन्त्री ओलीले देउवासँग भेटवार्ता गरेपछि गभर्नर नियुक्तिले सत्ता संकटमा पुगेको पुष्टि भएको थियो ।
ओली र देउवाको गोप्य भेटलगत्तै दुवैले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकलाई बालुवाटारमा बोलाएका थिए । त्यही क्रममा उनीहरूले शीर्ष नेतालाई ब्रिफिङ गर्दै विषयलाई धेरै लम्ब्याउन नहुने सुझाव दिएसँगै गभर्नर नियुक्तिको विषय टुंगिएको थियो । आजको नयाँ पत्रिकामा लेखिएको छ ।
झिल्को खबर । ८ जेष्ठ २०८२, बुधबार ०८:०९