दैलेखको चामुण्डामा हावाहुरीले घरको छाना उडाउँदा एक परिवार प्रभावित

सुर्खेत । दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर २ चाल्नेमा आइतबार साँझ आएको तीव्र हावाहुरीले एक घरमा क्षति पु¥याएको छ । हावाहुरीका कारण चामुण्डा–२ चाल्ने निवासी तुलबहादुर सिजालीको घरको छाना उडेर परिवार विस्थापित भएको हो।

सिजालीको घरमा लगाइएको जस्तापाता हुरीले उडाएपछि ती पाता पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुगेको स्थानीय कुबेर सिजालीले जानकारी दिए । “छाना उड्दा घरभित्र रहेका सामानहरूमा समेत क्षति पुगेको छ,” उनले भने, “ उनका अनुसार अहिले उनीहरू छिमेकीको घरमा बसिरहेका छन्।

घटनापछि वडा कार्यालयमा जानकारी गराइसकेको र स्थानीयहरूले समेत घटनास्थलको अवलोकन गरेको कुबेर सिजालीले बताए । पीडित परिवारको तत्काल राहत तथा पुनःस्थापना माग गर्दै स्थानीयबासीले आग्रह गरेका छन्।

हालसम्म घटनामा कुनै मानवीय क्षति नभए पनि सिजाली परिवारलाई आर्थिक र मानसिक रूपमा ठूलो क्षति पुगेको छ।