
कर्णाली नेपालको आत्मा, संस्कृतिको जरा, अनि भाषाको मुटु। यो केवल एक भूगोल होइन, एउटा चेतना हो, जसले नेपालीपनलाई पहिलोपटक शब्द दिएको थियो। जब हामी “नेपाली भाषा” को कुरा गर्छौं, त्यसको उत्पत्ति कहाँबाट भयो भन्ने प्रश्न उठ्दैन भने त्यो भाषाको अपमान हुन्छ। र जब उठ्छ, उत्तर सिधा जान्छ—कर्णाली।
कर्णालीको साँघुरो गल्ली, बगरको हावासँग लहरिने डाली, ढिकी–जाँतोको संगीत, बुढीआमाको झ्याउरे स्वर, अनि हिउँले सेताम्मे भएका डाँडाहरू—यी सबैले मिलेर कुनै समय नेपाली भाषाको पहिलो कविता रचना गरेका थिए। त्यो कविता न त किताबमा छ, न त रेडियोमा। त्यो त कर्णालीको हरेक ढुंगामा कुँदिएको छ।
इतिहास पल्टाउँदा हामी पाउँछौं, यहीँ कतैबाट ‘खस बोली’ को बीउ उम्रिएको थियो, जुन पछि ‘गोरखाली भाषा’ हुँदै आजको राष्ट्रभाषा ‘नेपाली’ बन्यो। तर यो रूपान्तरणको यात्रामा त्यो बीउ उम्रिएको माटोको मूल्य बिर्सियौं हामी। त्यो माटो थियो—कर्णाली।
हुम्लादेखि दैलेखसम्म, डोल्पादेखि सुर्खेतसम्म छरिएको भाषिक सम्पदा केवल संस्कृतिको शोभा मात्र थिएन, त्यो सिङ्गो राष्ट्रको आत्मीयता थियो। तर विडम्बना, आज हामी त्यो सम्पदाको स्याहार गर्ने होइन, सन्देह गर्ने काम गरिरहेका छौं। हामी राजधानीतर्फ मोडिएका छौं—जसले भाषालाई सजायो, तर आत्मा लियो।
“हामीले नेपाली भाषा पढ्यौं, तर हाम्रो बोली कहिल्यै किताबमा देखेनौं।”
एक स्थानीय शिक्षकको गहिरो कथन
आज विद्यालयमा अंग्रेजीको बादल छाएको छ। बालबालिकाहरू मोबाइलका स्क्रिनमा रमाउँछन्, मातृभाषा सुन्ने कान बन्द छन्। टीभी, रेडियो, अनलाइन मिडिया सबैतिर शहरी उच्चारणले कब्जा जमाएको छ। कर्णालीको बुढीआमाले बोलेको “बनात को’?” जस्ता सवाल अब न सुनिन्छ, न बुझिन्छ।
कर्णालीका वाक्यहरू केवल वाक्य थिएनन्, जीवन थिए। “गाको छस् त?”, “ठिक्कै छ ल हेर्नुस्”, “खाना खायौं हौ?”—यी वाक्यहरूबाट मात्रै कर्णाली बुझिँदैन, माया, अपनत्व, आत्मीयता, सामाजिक सम्बन्ध बुझिन्छ। तर यी वाक्यहरू अहिले विरासत होइन, बिर्सिने वस्तु बन्दैछन्।
भाषा गुमाउनु भनेको आफैँलाई गुमाउनु हो।
शब्द जन्मिन्छ बोलीबाट, बोली जन्मिन्छ माटोबाट। र जब हामी आफ्नो माटोबाट टाढा जान्छौं, त्यहीबेला भाषा पनि टाढा जान थाल्छ।
हिजोका दिनमा गाउँका चौतारीमा गाइने झ्याउरे, कर्कलो बोली, सटिक उखान, रोचक गफ, अनि आत्मियताले भरिएको बोलचाल—यी सब अब कथामा मात्रै बाँकी छन्। बुवा–आमाले बोल्ने भाषा छोराछोरीले बुझ्दैनन्। विद्यालयमा सिकाइने नेपाली किताबको भाषा यति निस्क्रिय छ कि त्यो जीवनसँग मेल खाँदैन।
कर्णाली आज मौन छ। त्यो मौनता गहिरो छ, करुणामय छ। स्रष्टाहरू अझै छन् यहाँ, तर आवाज हराएको छ। गीतहरू लेखिन्छन्, तर गायकहरू गुमनाम छन्। कविताहरू लेखिन्छन्, तर श्रोता छैनन्। रेडियोमा बज्ने आवाज अब ठेट नेपाली होइन, कतैबाट ल्याइएको ‘मेड इन सहर’ बोली हो।
हुन त कर्णालीका गाउँहरूमा अझै पनि ‘ढल्के’ नानीहरू ढिकी पिस्छन्, आमाहरू गह्रौँ लुगाले बालक बोक्छन्, बाआमाहरू “सोध हे नानी” भनेर बोलाउँछन्। तर यी सबै गतिविधिहरू समाजको मूलधारबाट विस्थापित हुँदै छन्। यी बोलीहरू दस्तावेज हुने छैनन् भने इतिहास कर्णालीलाई फेरि अन्याय गर्नेछ।
कर्णाली फेरि बोल्न सक्दैन?
सक्छ। तर यसको लागी केवल शब्द होइन, सोच चाहिन्छ।
हामीले विद्यालयमा ‘गाइड’ पढाउने होइन, जीवन बोल्ने भाषा सिकाउनुपर्छ। शिक्षकहरूले स्थानीय बोलीप्रति गर्व गर्न सिकाउनुपर्छ, अनि विद्यार्थीहरूले आफ्ना हजुरबुबाको बोलीलाई अभिमानको रूपमा लिनुपर्छ।
स्थानीय सरकार, प्रदेश सरकार, मिडिया, सामाजिक अभियन्ता, लेखक—सबैको सामूहिक संकल्प आवश्यक छ। कर्णालीमा भाषिक अभिलेखालय, साहित्यिक उत्सव, स्थानीय बोलीमा रेडियो कार्यक्रम, अनि युवाहरूका लागि बोली–कथा प्रतियोगिता सुरु गर्न सकिन्छ।
हिजो भाषा पाएर बाँचियो, आज भाषा बचाएर बाँच्छौं। किनभने अब जरा सुक्न थालेको छ। त्यो जरा जुन कर्णालीको ढुङ्गामा उम्रिएको थियो, अहिले ओइलिन थालेको छ।
यदि हामी कर्णालीलाई केवल टाढाको पहाड मानेर हेर्छौं भने, नेपाली भाषालाई इतिहासमा अनाथ बनाउनेछौं।
भाषा केवल संचारको माध्यम होइन—भाषा स्मृति हो, भाषा संस्कृति हो। र कर्णाली त्यो स्मृतिको सबैभन्दा पुरानो गवाही हो। हामीले त्यो भाषा, त्यो बोली, त्यो आत्मा जोगाउन सकेनौं भने, साँचो अर्थमा राष्ट्रभाषा भन्ने शब्दको गर्व बाँकी रहने छैन।
लेखक सुर्खेत वीरेन्द्रनगर स्थित होराइजन एकाडेमीका प्रधानाध्यापक हुन् ।
घनश्याम खड्का । ३ असार २०८२, मंगलवार १६:४३