मुगुमा करेन्ट लागेर १० खच्चर मरे , क्षतिपूर्ति दिन र विद्युत् सुरक्षित रुपमा जडान गर्न स्थानियको माग

सुर्खेत । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका १२ स्थित लुम्स गाउँमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन् । आइतबार राति १० बजेतिर राष्ट्रिय विद्युत् प्रसारण लाइनको करेन्ट लागेर १० खच्चर मरेका हुन् । मुगु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले लुम्स गाउँका तीन किसानका १० खच्चर मरेको पुष्टि गरे । उनका अनुसार कर्णबहादुर मल्लका ४ वटा, जक्ति बडुवालका ३ र पृथ्वीबहादुर ऐडीको तीन वटा खच्चर मरेका हुन् । यसअघि शनिबार मात्रै त्यही स्थानमा करेन्ट लागेर एक भैंसी मरेको थियो ।

राष्ट्रिय प्रसारण लाइनको ट्रान्समिटर राखेको स्थानमा पुग्दा एक्कासी खच्चरमा करेन्ट लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मिश्रले करेन्टले खच्चर मरेको बताए । उनले भने, ‘सदरमुकाम देखि ४५ मिनेटको दूरीमा पर्ने लुम्समा करेन्ट लागेर खच्चर मरेका हुन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।’

छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले विद्युत् प्राधिकरणको लापरबाहीका कारण किसानले खच्चर गुमाउनुपरेको बताए । ‘बाटोमा ट्रान्समिटर राखिएको थियो,’ उनले भने, ‘करेन्ट लिक भयो । खच्चर मरे ।’

विद्युत् प्राधिकरणका कर्मचारीलाई तत्काल घटनास्थलमा गएर मुचुल्का उठाउन भनिएको छ ।

नगरप्रमुख भामले थपे, ‘तत्काल प्राविधिकहरु झिकाएर व्यवस्थित रुपमा सुरक्षित हिसाबले ट्रान्समिटर राख्न भनिएको छ ।’ उनले किसानलाई विद्युत् प्राविधिकरणले नै क्षतिपूर्ति दिनुपर्ने बताए । अहिले पनि दुर्गम क्षेत्रमा खच्चरबाट दैनिक उपभोग्य सामानहरु लगायतका वस्तुहरु ढुवानी भइरहेका छन् ।
अहिले करेन्ट लागेर खच्चर मरेको आसपासमा जान रोक लगाइएको छ । स्थानीयले मरेका खच्चरको क्षतिपूर्ति दिन र विद्युत् सुरक्षित रुपमा जडान गर्न माग गरेका छन् ।