

सुर्खेत । सुर्खेतमा हतियार र लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति ९ वीरेन्द्रनगर–८ कृष्णमन्दिरस्थित एक घरबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अटोमेटिक चाइनिज पेस्तोल र लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेको सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।
उनका अनुसार, उनीहरूसँग लागुऔषध तथा हतियार रहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । उनीहरू बस्ने कोठामा एक थाना सेमिअटोमेटिक चाइनिज पेस्तोल, पेस्तोलमा लाग्ने १२ राउन्ड गोली, औषधिजन्य लागुऔषध १४ सय २६ ट्याब्लेट, विभिन्न आकारका खुकुरी चार थान, चक्कु दुई थान, बन्चरो एक थान, कैँची एक थान, नाइनस्टिक एक थान बरामद भएको छ ।
कोठाबाट प्रतिबन्धित वन्यजन्तु जरायोको सिङसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढाथापाले जानकारी दिए ।
सुर्खेत प्रहरीले अपराध नियन्त्रणका लागि यसलाई महत्त्वपूर्ण सफलतका रूपमा व्याख्या गरेको छ ।
पक्राउ परेका विधानविरुद्ध ०७८ भदौ २७ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । उनी फरार सूचीमा थिए ।
उनीहरूविरुद्ध हातहतियार, लागुऔषध र वन्यजन्तु ओखेटोपहार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झिल्को खबर । ३ श्रावण २०८२, शुक्रबार १७:०९