सुर्खेत महिला जेसीज बर्ष २०२५ द्धारा छात्रवृत्ति वितरण

सुर्खेत । सुर्खेत महिला जेसीज वर्ष २०२५ को आयोजनामा “पढाउ अभियान“ अन्तर्गत विहिवार छात्रवृत्ति वितरण गरिएको छ ।

सुर्खेत महिला जेसीज वर्ष २०२५ की अध्यक्ष कमला बस्याल देवकोटाका अनुसार, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक अवसरमा पहुँच दिलाउने उद्देश्यले वीरेन्द्रनगर नगरपालिका–९ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण गरिएको हो।

कार्यक्रमको प्रमुख आतिथ्य सुर्खेत महिला जेसीज वर्ष २०१९ की अध्यक्ष जेसी लक्ष्मी कार्की प्रधानले गरेकी थिइन् भने अन्य विशिष्ट अतिथिको रूपमा वर्ष २०२० की अध्यक्ष जेसी प्रमी शाक्यको उपस्थिति रहेको थियो। साथै, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, तथा २०२५ का बोर्ड पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी थिए।

अध्यक्ष देवकोटाले भनिन्, “व्यक्तित्व र नेतृत्व विकासका साथै सामाजिक उत्तरदायित्व पूरा गर्न हाम्रो संस्था क्रियाशील छ। पढ्न चाहने तर आर्थिक अभावमा पछि पर्नु नपरोस् भनेर यो छात्रवृत्ति कार्यक्रम संचालन गरिएको हो।”

उनले विगतदेखि सुर्खेत महिला जेसीजलाई अगाडि बढाउन योगदान दिनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्दै संस्थाका सम्पूर्ण पदाधिकारीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाएको उल्लेख गरिन्।