

काठमाडौं । ‘जेनजी’ पुस्ताको नाममा सोमबार (भदौ २३) गरिएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएका जनाएको छ ।
मन्त्रालयका अनुसार, सिभिल अस्पतालमा उपचारका क्रममा तीनजनाको मृत्यु भएको छ । त्यहाँ १०० जनाको उपचार भइरहेको छ ।
यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आठजनाको मृत्यु भएको छ । त्यहाँ ५९ जना उपचाररत छन् । वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ ।
बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचारका क्रममा तीनजनाको मृत्यु भएको छ । त्यहाँ १०२ घाइतेको उपचार भइरहेको छ । आठजनालाई अन्यत्र ‘रेफर’ गरिएको मन्त्रालयले जनाएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चारजनाको उपचार भइरहेको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ । त्यहाँ उपचारका क्रममा दुईजनाको मृत्यु भएको छ । घाइतेमध्ये ६ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ ।
नर्भिक अस्पतालमा तीनजनाको उपचार भइरहेको छ ।
मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एकको मृत्यु भइसकेको जनाएको छ ।
काठमाडौं उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, विराट मेडिकल कलेजमा चार, दमक अस्पतालमा सातजनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको छ ।

झिल्को खबर । २३ भाद्र २०८२, सोमबार २१:०५