

सुर्खेत । कर्णालीमा ‘जुरुक्क जेनजी’ले अफवाह र भ्रमका पछि नलाग्न आग्रह गरेको छ ।
जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर विभिन्न षडयन्त्रको मञ्चन भइरहेको भन्दै त्यस्ता षड्यन्त्र र अफवाहका पछि नलाग्न आग्रह गरेको हो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज कुनै व्यवस्था वा संविधान विरुद्ध नभएको समेत प्रस्टाएको छ । ‘जेनजी आन्दोलन देशमा बढ्दो भ्रष्टाचार, अनियमितता र अपारदर्शी प्रवृत्तिको विरुद्धमा हो’ जुरुक्क जेनजीले भनेको छ ।
पछिल्लो समय कर्णालीमा जेनजीको आधिकारिक समूह भन्दै फैल्याइएको भ्रममा समेत नपर्न आग्रह गरेको छ । ‘जेनजी अभियान कर्णालीको आधिकारिक नेतृत्व ‘जुरुक्क जेनजी’ले शुरुआती दिन देखि नै लिँदै आएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘जेनजी कर्णालीको नेतृत्वबारे भ्रममा नपर्न समेत सम्पूर्णलाई आग्रह गर्दछौँ ।’
‘जुरुक्क जेनजी’ले हाल कर्णालीका सम्पूर्ण जेनजी नेतृत्वकर्ता, नागरिक समाजका अगुवा र विभिन्न क्षेत्रका विज्ञहरूसँग विविध विषयमा छलफल समेत भइरहेको जानकारी दिएको छ । ‘सबैको सल्लाह र छलफलबाट जेनजी आन्दोलन कर्णालीको धारणा सार्वजनिक गर्नेछौँ ।
बजारमा आउने कुनै पनि हल्ला, अफवाह र भ्रमका पछाडि नलाग्न समेत सबैलाई आग्रह गर्दछौँ’ अभियानले भनेको छ । अभियानले संविधानलाई बेवास्ता गर्ने, युवाको आवाजलाई कमजोर पार्ने वा चलखेलद्वारा शासन गर्ने हरेक प्रवृत्ति स्वीकार्य नभएको बताएको छ ।
संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गर्नेछ भन्नेमा विश्वस्त रहेको समेत ‘जुरुक्क जेनजी’ले बताएको छ ।


झिल्को खबर । २६ भाद्र २०८२, बिहीबार १८:३४