

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका पूर्वनिर्देशक डा. डम्बर खड्काले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा आफ्नो घरमा आगजनी तथा लुटपाट हुँदा आफ्नो ४१ वर्षको कमाइ जलेर खरानी भएको बताएका छन् ।
जेनजी आन्दोलनकारीले गएको भदौ २४ गते नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको घर भन्दै डा. खड्काको घरमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए । डा. खड्का नेता पूर्णबहादुरका सहोदर भाइ हुन् ।
बुधबार आगलागीले खण्डहर भएको निवासमै पत्रकारहरूसँग कुराकानी गर्दै डा. खड्काले आफ्नो पुख्र्यौली घरबाहेक आफ्नोमात्र करिब चार करोड बराबरको क्षति भएको बताए ।
दुई वर्षअघि प्रदेश आन्दोलनका क्रममा पनि आफ्नो परिवार र आफ्नो घरमा आक्रमण भएको भन्दै डा. खड्काले यसपटक पुनः जेनजी आन्दोलनसँगै रिसइबीले आफ्नो निजी सम्पत्तिमाथि ठूलो क्षति पुगेको बताए ।
डा. खड्का घर आगलागी हुँदा मानसरोवर कैलाश दर्शनका लागि तिब्बत यात्रामा थिए । उनले आफूले कसैको पाप नगरेको हुनाले नै आज आफू यो स्थानमा पुगेको बताए । यस पटकको कैलाश यात्रामा पनि भगवान् कैलाशले आफूलाई शक्ति प्रदान गरेको उनको भनाइ छ ।
आफ्नो घर जलेर खरानी हुँदा पनि आफूले हार नखाएको भन्दै उनले भने, “मैले कर्णालीभन्दा बाहिर धेरै अवसरहरू त्यागेर यही जन्मभूमिमा बसेर ४१ वर्ष सेवा गरेँ । तर, आज मेरो श्रमको सबैभन्दा ठूलो अपमान भएको छ ।”
उनका अनुसार, घरमा भएको आक्रमणमा सुनका गरगहना लुटिएको छ । उनको श्रीमतीले सजाएर राखेका सबै सामग्री र छोराले आमाको सम्झनामा किनेको पियानोसमेत जलेर नष्ट भएको छ ।
“मेरी श्रीमती बितेको पीडा अझै सकिएको थिएन, त्यही बेला फेरि अर्को ठूलो पीडा थपियो,” उनी भन्छन्, “तर, मैले हार खाएको छैन । यही ठाउँमा फेरि नयाँ घर बनाएर बस्ने हो, यस्तो भयो भन्दैमा यहाँबाट बाहिर जाने होइन ।”
उनले आफ्ना दाइ पूर्णबहादुर खड्कामाथि भ्रष्टाचारको निराधार आरोप लाग्ने गरेको पनि बताए । “उहाँले भ्रष्टाचार गरेको भए छानबिन होस् । तर, हामीले उहाँ मन्त्री भएको फाइदा लिएका छैनौँ र उहाँ दाइ पूर्णबहादुरजस्तो निष्कलंक नेता नेपालमा कोही भए, देखाए भयो । अरूले भनेको आधारमा ऊ नेता भ्रष्टाचारी हो भन्दै सबै नेताहरूलाई एकै तरिकाले हेर्न हुँदैन,” उनले भने ।
उनले अगाडि थपे, “दाइले राजनीति गरेको यतिका समय भयो । तर, आफ्नो बाससम्म बनाउन सक्नुभएको छैन । उहाँ अहिले मेरो ससुरालीले दिएको घरमा बस्दै आउनुभएको छ । भनेपछि उहाँले भ्रष्टाचार गर्नुभयो होला कि गर्नुभएन होला, यहाँबाट पनि बुझ्न सकिन्छ । जसले चिकित्सा क्षेत्रबाट र राजनीति क्षेत्रबाट यो गाउँ ठाउँ र प्रदेशका लागि सेवा गरिरहेको छ, उसलाई किन यसरी प्रहार भएको छ ?”
उनले आफूले कर्णाली प्रदेश अस्पताललाई देशकै अब्बल बनाउन योगदान गरेको तर समाज र राज्यले बेवास्ता गरेको गुनासो गरे । “कर्णाली प्रदेश अस्पताललाई देशकै ‘एक नम्बर’ बनाउनु अब अभिशाप बनेको जस्तो भएको छ । मैले जसले पैसा तिर्न सकेन, उसलाई निःशुल्क उपचार गरेँ– के यो मेरो अपराध हो ?”
आफ्नो सुरक्षामा समेत आशंका व्यक्त गर्दै डा. खड्काले भने, “अब देशको सुरक्षाभन्दा बढी आफ्नै सुरक्षाको जिम्मा आफैँ लिनुपर्ने दिन आएको छ ।”
उनले सुरक्षाकर्मीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । उनले यस्ता आक्रमणकारीलाई कुनै हालतमा छाड्न नहुने बताए । “हाम्रो घर जलाइयो, सम्पत्ति लुटियो । तर, सुरक्षाकर्मीहरूले हाम्रो रक्षामा उचित भूमिका खेलेनन्,” डा. खड्काले भने ।
नेपाली कांग्रेस सुर्खेतका उपसभापति एवं नेपाली कांग्रेस केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काका अर्का भाइ विष्णु खड्काले पनि आफ्नो परिवारमाथि भएको आक्रमणको निष्पक्ष छानबिनको माग गरेका छन् ।
उनले पञ्चायतकालदेखि अहिलेसम्म आफ्नो परिवारले ठूलो भूमिका खेलेको भन्दै पटकपटक आफ्नो परिवारमाथि यसरी आक्रमण हुनु भनेको दुःखद भएको बताए । उनले आफ्नो दाइ पूर्णबहादुर खड्का र आफूहरूले कहीँ कतैबाट केही भ्रष्टाचार गरेको प्रमाणित भए आफूहरू जेल जान तयार रहेको जिकिर गरे ।
तर, आफ्नो दाइ पूर्णबहादुर खड्काले यति लामो राजनीतिक इतिहासमा आफ्नो चढ्ने एक गाडीसमेत किन्न नसकेको बताए । सबै आफूले आफ्नो व्यवसायबाट दाइलाई राजनीति गर्न सहयोग उनको दाबी छ ।

झिल्को खबर । ९ आश्विन २०८२, बिहीबार ०६:५०