कर्णालीमा एक्लिँदै जनार्दन

फाइल तस्विर ।

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा आफ्नो गृह प्रदेश कर्णालीमा पछिल्लो समय एक्लिन थालेका छन् ।
उनले पार्टीभित्र नेतृत्व हस्तान्तरणका विषयमा खरो आवाज उठाइरहेका छन् । तर, कर्णालीमा एक्लिँदै गएको देखिन्छ । काठमाडौंमा भएको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकका बेलाका दृष्यले प्रष्ट देखाउँछ ।

कर्णालीबाट सातौँ पूर्ण बैठकमा ६५ जना केन्द्रीय सदस्य सहभागी भए । समूह नेताको रूपमा महेन्द्रबहादुर शाहीले कर्णालीको तर्फबाट बैठकमा निष्कर्ष प्रस्तुत गरेका थिए ।

सहभागी केन्द्रीय सदस्यहरुमध्ये ५३ जनाले अध्यक्ष प्रचण्डको प्रस्तावमा सहमर्थन जनाउनुले पनि शर्माको कमजोर रहेको देखाउँछ । अध्यक्षको प्रस्ताव समर्थन नजनाउने सातमध्ये दुई जनाले कुनै धारणा नै राखेनन् । उपमहासचिव शर्माको पक्षमा तीनजनाले समर्थन जनाएको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बिहीबार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्ताव प्रस्तुत भएको थियो । प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।

यसभन्दा अघि कर्णालीमा जनार्दन शर्माको बलियो पकड रहेको अनुमान गरिन्थ्यो । सातौँ पूर्ण बैठकमा भने शर्मा कर्णालीमा एक्लिन थालेको तथ्य बाहिएको हो ।

कर्णालीमा कसरी एक्लिए जनार्दन

पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनमा उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डविरुद्ध पूरै प्यानल नै चुनावमा उठाएका थिए ।

संगठनमा राम्रो पकड मानिएका नेता शर्माले आफ्नो प्यानलमा कर्णालीबाट एकलौटी मत लिन्छन् कि भन्ने अनुमान थियो । तर, कर्णालीमा नेता महेन्द्रबहादुर शाहीको नेतृत्वमा अध्यक्ष प्रचण्ड हेडक्वाटर लाइनलाई चुनाव जिताउन लागिपरेका थिए । विद्यार्थीहरूको चुनावमा शर्माले सोचेको जस्तो आफ्नो प्यानलका लागि भोट तान्न सकेनन् ।

त्यसलगत्तै नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले अध्यक्ष प्रचण्डको सहभागितामा सुर्खेतमा प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो । उक्त प्रशिक्षण कार्यक्रममा पनि उनका भाइ तत्कालीन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माबाहेक अरुले उपमहासचिव शर्माको पक्षमा खुलेर बोलेका थिएनन् ।

साविकको कर्णालीमा त उपमहासचिव शर्मालाई प्रचण्डविरुद्ध बोलेमा प्रवेश नै निषेध गरिदिनेसम्मका धम्की दिएका थिए । सातौँ पूर्ण बैठकसम्म आइपुग्दा उपमहासचिव शर्मा कर्णालीमा कमजोर हुने अवस्थामा पुगेका छन् ।