प्रदेश अस्पताल सुर्खेतका नर्सहरु आन्दोलित दुई घण्टा काम ठप्प

सुर्खेत । पोखरा मणिपाल अस्पतालबाट सुरु भएको नर्सहरुको आन्दोलनको प्रभाव प्रदेश अस्पताल सुर्खेतमा समेत परेको छ । बुधवार प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नर्सहरुले हातमा कालो पट्टी बाँधेर दुई घण्टासम्म आन्दोलनमा उत्रिएका छन् ।

देश व्यापी रुपमा नर्सहरुकोे श्रम सोषण भएको भन्दै नेपाल नर्सिङ संघ सुर्खेतको अनुगाइमा बुधवार प्रदेश अस्पतालमा कार्यरत नर्सहरुले प्रदेश अस्पताल सुर्खेतमा दुई घण्टासम्म हातमा कालो पट्टी बाधेर धर्ना दिए ।

नेपाल नर्सिङ संघ सुर्खेत शाखा अध्यक्ष एवं प्रदेश अस्पताल सुर्खेत नर्सिङ विभाग प्रमुख सकुन्तला सापकोटाले नर्सहरुलाई श्रम अनुसारको पारिश्रमिक नभएको भन्दै आफुहरु अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रको काम छोडेर आन्दोलन गर्न बाध्य भएको बताइन् ।

उनले नर्सहरुले जोखिमपूर्ण रोगसँग काम गर्नु पर्ने बाध्यता रहेको भन्दै नर्सहरुले काम अनुसारको सम्मान नपाएको र उनिहरु माथि अन्याय र व्यथिति बढेको स्पष्ट पारिन् । “हामि नै जोखिमपूर्ण रोगहरुसँग लडिरहेका छौ हामिलाई नै सरकारले जोखिम भत्ताको व्यवस्था गरेको छैन,”अध्यक्ष सापकोटाले भनिन्,“ यसको बारेमा सरकारले सोच्नु पर्ने हो ।”

सरकारले ओएनएम विना नै नर्सहरुलाई काम गराउँदै आएको भन्दै उनले नर्सहरुको दरबन्दी र ओएनयम गर्दा पाँच होटेलमा लिएको रिर्पोटलाई आधार मानेर भन्दा फिल्डमा आएर यसको बास्तविकता बारे बुझ्न सम्बन्धित निकायलाई आग्रह गरिन् ।

कर्णाली प्रदेश सरकारले कर्णालीका नर्स माथि विभेद गरेको भन्दै उनले तलब बाहेकका अन्य अधिकारबाट बन्चित गराएको अध्यक्ष सापकोटाले आरोप लगाइन् । “नेपालका अन्य ठुला अस्पतालहरुमा नर्सहरुलाई धेरै सुविधा दिएको छ । तर यहाँ शिसु स्याहार केन्द्र सम्म प्रदेश सरकारले स्थापना गर्न सकेको छैन यहाँ बच्चा सहित डिउटीमा आउने नर्सहरुले बच्चालाई स्तनपान गराउनु पर्ने होला यो कर्णाली सरकारले अहिलेसम्म बुझेको छैन,”उनले भनिन्,“यस बारेमा धेरै पटक छलफल भयो तर सरकारले अहिलेसम्म व्यवस्था गरेको छैन ।”

कर्णाली प्रोत्साहन भत्ता कामको आधारमा दिने भन्दा पनि डाक्टरहरुलाई कसैलाई ८० प्रतिशत कसैलाई ९० प्रतिशत र कसैलाई १०० प्रतिशत दिने गरिएको छ फिल्डमा खटिएका नर्सहरुलाई तोकुवाको आधारमा अहिलेसम्म ४ हजार मात्र दिइन्छ यो पनि कर्णालीका नर्सहरु माथिको ठुलो विभेद हो उनले भनिन् ।”

यता नर्सिङ संघ सुर्खेतकी उपाध्यक्ष प्रतिमा पन्तले नर्सहरुको माग जायज भएको भन्दै सबै एकै चोटी पुरा गर्न नसके पनि विस्तारै सरकारले नर्सका मागहरुलाई पुरा गर्नु पर्नेमा जोड दिइन् ।

हाम्रो आन्दोलनको खास कारण भनेको फुल स्यालरी हो काम अनुसारको भत्ताको व्यवस्था पनि छैन । धेरै जोखिम विरामीहरुलाई हेर्न पर्छ त्यो अनुसारको भत्ताको व्यवस्था नभएका कारण आज आन्दोलन गर्नु परेको प्रदेश अस्पतालमै कार्यरत नर्स काजल शाहको भनाइ छ ।

“हामिले जोखिमपूर्ण अवस्थामा काम गरेका छौ तर सरकारले त्यो अनुसारको व्यवस्था गरेको छैन । रातदिन नभनेर काम गरेका छौ सरकारले हामिलाई प्रोत्साहान गरेको छैन,”काजलले भनिन् ,“हाम्रो माग छिटो पुरा हुनु प¥यो कसैलाई काखा कसैलाई पाखा गर्नु भएन ।”

यता प्रदेश अस्पतालका निर्देशक गणेश थापाले नर्सहरुको दुई घण्टाको आन्दोलनले अस्पतालको काममा थोरै भए पनि बाधा पुगेको भन्दै अस्पताल जस्तो सम्बेदनशिल ठाउँमा काम नै छाडेर यसरी आन्दोलन गर्न नहुने बताउछन् ।