सुर्खेतमा छोराले फरुवा प्रहार गर्दा आमाको मृत्यु

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा एक महिलाको आफ्नै छोराले फरुवा प्रहार गर्दा आमाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ७ बजे ३० बर्षीया कबिराम बस्नेतले घरायसी विवादका कारण आफ्नी ५० बर्षीया आमा धनिकला बस्नेतलाई घरमा सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गर्दा धनकला गम्भिर घाइते भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालाय सुर्खेतका अनुसार छोराको फरुवा प्रहारबाट गम्भिर घाइते भएकी धनिकलालाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत, कालागाउँ लगिएको थियो । तर बिहान करिब ८ बजेर १५ मिनेटको समयमा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

घटनापछि आरोपी छोरा कबिराम बस्नेतलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट पक्राउ गरी नियन्त्रणमा लिएर थप घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

घरमा के कति कारणले विवादको भएका थियो भन्ने अनुसन्धान पछि मात्र थाहा हुँने भन्दै प्रहरी नायब उपरीक्षक बुढथापाले आरोपी छोरा कबिराम भने मानसिक स्वास्थ्य समस्याका विरामी रहेको बताएका छन् ।