

सुर्खेत । सेभ द चिल्ड्रेन र किर्डाक नेपालको सहयात्रा तेस्रो परियोजनाको आर्थिक सहयोगमा श्री हिमशिखर माध्यमिक विद्यालय, तातोपानी–२ र विद्यालय बाल क्लबको संयुक्त आयोजनामा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा १५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम स्थान श्री कालिका मावि टोप्लाका विकास शाही, दोस्रो स्थान दुर्गा माविका देवराज कामी, र तेस्रो स्थान नेत्रज्योति माविकी प्रमाणकृति कामीले प्राप्त गरे। त्यस्तै, सान्त्वना पुरस्कार गणेश माविका भिमप्रसाद कठायत र नेत्रज्योति माविका सुनिल सार्कीले हात पारे।
कार्यक्रमका प्रमुख अतिथि तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अगराज डाँगी रहेका थिए भने कार्यक्रमको अध्यक्षता हिमशिखर माविका प्रधानाध्यापक धनबहादुर रोकायाले गरेका थिए ।
किर्डाक नेपालका परियोजना संयोजक दिपेश आचार्यले बालबालिकालाई जलवायु परिवर्तनले पार्ने प्रभावबारे ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “हाम्रो उद्देश्य बालबालिकालाई जलवायु परिवर्तन, बाल अधिकार र संरक्षणबारे सचेत बनाउनु हो।”
प्रधानाध्यापक रोकायाले पनि यस्ता सृजनात्मक गतिविधिले विद्यार्थीहरूको सीप र आत्मविश्वास विकासमा टेवा पु¥याउने बताए ।
त्यस्तै, किर्डाक नेपालका बाल अधिकार, शासन तथा बाल संरक्षण परियोजना संयोजक प्रकाशबहादुर शाहीले विद्यालयमा भित्तेपत्रिका प्रकाशन लगायत यस्ता गतिविधिहरूमा किर्डाक नेपालले निरन्तर सहयोग गर्दै आएको जानकारी दिए।
सेभ द चिल्ड्रेनसँगको सहकार्यमा किर्डाक नेपालले शिक्षा, बाल अधिकार, बाल संरक्षण, जलवायु परिवर्तन तथा यौन र प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा विगत एक वर्षदेखि विद्यालय, वडा र समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

झिल्को खबर । २२ कार्तिक २०८२, शुक्रबार २०:०१