
काठमाडौं । आगामी फागुन २१ का निम्ति तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि १ सय २० दलले दर्ताको निवेदन दिएका छन् ।
निर्वाचन आयोगले दिएको दर्ताको समय आइतबार सकिएको छ । जेनजी आन्दोलनपछि जन्मिएका नयाँ दल र आयोगमा दर्ता भइरहेका दलले चुनावी प्रयोजनका लागि दर्ताको निवेदन दिएका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि २५ नयाँ दल दर्ता भएका छन् । आयोगमा आइतबारसम्ममा २५ दल दर्ता भएका हुन् । यससँगै आयोगमा दर्ता भएको दलको संख्या १४३ पुगेको छ ।
सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारका मन्त्री कुलमान घिसिङको समर्थनमा भने उज्यालो नेपाल पार्टी बनेको छ । पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय नेतृत्वमा बनेको उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बलेको चिम छ ।
उक्त पार्टी र अभियन्ता खगेन्द्र सुनुवार नेतृत्वमा बनेको हाम्रो पार्टी नेपाल साझा चिह्न लिएर चुनावमा जाने सहमति भएको छ । धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयर बनेका हर्कराज राई दल खोलेरै राजनीतिमा होमिए । राईको नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता भएको छ ।
०७९ को निर्वाचनबाट उदाएको नागरिक उन्मुक्ति (नाउपा)को कलहले नयाँ दल जन्माएको छ । नाउपा संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको कलहले नयाँ दल जन्माएको हो । उनीहरू श्रीमान् –श्रीमती हुन् ।
रेशम संरक्षक रहने गरी २७ वर्षीय कविर सोवको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भयो । तर, यो पार्टीले अशोक रार्ई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति नेपालसँग मिलेर जाँतो चिह्न लिएर चुनावमा जाने भएको छ ।
यस्तै, बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत पनि राजनीतिमा होमिएका छन् । दिनेशराज प्रसाईं अध्यक्ष रहेको गतिशील लोकतान्त्रिक पार्टीमा उनी सदस्य छन् । यता, नेत्रविक्रम चन्द विप्लवले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ब्युँताएका छन् ।
माओवादी केन्द्रसहितका दल मिलेर नेपाल कम्युनिस्ट पार्टी विप्लवले माओवादी ब्युँताएका हुन् । उनको पार्टी गुलाफ चुनाव चिह्न लिएर चुनावमा होमिँदै छ ।
जेनजी आन्दोलनका घाइते राजेश प्रतेलको नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी दर्ता भएको छ । २१ सदस्यी केन्द्रीय समितिमा चारजनाबाहेक सबै जेनजी उमेर समूहका छन् ।
रियाज अहमद शेषको नेतृत्वमा राष्ट्रिय जनमत पार्टी, अकबर खानको नेतृत्वमा राष्ट्र निर्माण दल दर्ता भएका छन् । ०७९ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य बनेका योगेन्द्र मण्डलले नयाँ दल खोलेका छन् ।
उनको नेतृत्वमा राष्ट्रिय उर्जाशील पार्टी, नेपाल दर्ता भएको छ । उनको चुनाव चिह्न चापकल रहेको छ । प्रशान्त सिंहको नेतृत्वमा पिपुल फस्ट पार्टी, सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी, रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी दर्ता भएका छन् ।
अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी बनेको छ । गणेशकुमार मण्डलको नेतृत्वमा सार्वभौम नागरिक पार्टी, श्रृषा केसीको नेतृत्वमा नागरिक सेवा पार्टी, सविन सिग्देलको नेतृत्वमा प्रगतिशील पार्टी जन्मिएका छन् । यस्तै, जनमत फुटेर बनेको दल जनस्वराजले मान्यता नपाएपछि दीपककुमार साहले सर्वोदय पार्टी दर्ता गराएका छन् ।
उता, पूर्वआईजीपी सर्वेन्द्र खनालको नेतृत्वमा समुन्नत पार्टी बनेको छ । त्यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थन रहेको नागरिक बचाउ दल दर्ता भएको छ । माधवप्रसाद खतिवडाको नेतृत्वमा दल दर्ता भएको हो ।
त्यस्तै, जेनजी आन्दोलनपछि चर्चामा रहेका सुधन गुरुङको समर्थन रहेको भन्दै नेपाल जनसेवा पार्टी दर्ता भएको छ । प्रकाश खड्काको नेतृत्वमा रहेको पार्टीको चिह्न जुत्ता रहेको छ ।

झिल्को खबर । १६ मंसिर २०८२, सोमबार ०६:४६