

सुर्खेत । माओवादीसहित वामघटकबीच भएको एकतापछि जनार्दन शर्माको अभियानमा लागेका साबिक माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई सांसद पदबाट निष्कासन गर्न नेकपाको केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ । संसदीय दलको नेताबाट राजिनामा बुझाएका उनलाई सांसद पदबाट निष्कासन गर्न केन्द्रमा सिफारिस गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जि.सीले जानकारी दिए ।
यसैबीच साबिक नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा दल ‘नेपाली कम्युनिस्ट पार्टी’ मा रुपान्तरण भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले साबिक माओवादी केन्द्र प्रदेश सभा दललाई अब नेपाली कम्युनिस्ट पार्टीमा रुपान्तरण गर्ने निर्णय गरेको हो । अब नेकपा कर्णाली प्रदेश सभा दलमा साबिक नेकपा एकीकृत समाजवादीका एक सांसदसहित १३ सदस्य भएका छन् ।
यस्तै बैठकले नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश संसदीय दलको विधान पनि पारित गरेको जि.सीले जानकारी दिए । हाललाई संसदीय दल नेतासहितका पदाधिकारी चयनका लागि जीसीलाई नै जिम्मेवारी दिइएको छ । अर्को बैठकमा उक्त विषयमा छलफल गरिनेछ ।
यसैगरी, प्रदेश सरकारले प्रशासनिक भवन निर्माणको ठेक्का प्रक्रियामा सेटिङ भएकाले हालको नेकपा प्रदेश संसदीय दलले अध्ययन गरी प्रक्रियामा जाने निर्णय गरिएको उनले बताए ।

झिल्को खबर । १८ मंसिर २०८२, बुधबार १९:१३