
सुर्खेत । कर्णाली प्रदेशमा आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै २६ हजार ६ सय ३५ नयाँ मतदाता नामावलीमा सूचीकृत भएका छन् ।
मंसिर ५ गते नाम दर्ता तथा अद्यावधिकका लागि तोकिएको समयसीमा सकिएसँगै प्रदेशका १० जिल्लाबाट प्राप्त सबै विवरण प्रदेश निर्वाचन कार्यालय, सुर्खेतले सार्वजनिक गरेको हो । यसअघि कर्णालीमा मतदाताको संख्या १० लाख ६ हजार ८ सय ३४ थियो । नयाँ दर्तासँगै कुल मतदाताको संख्या करिब १० लाख ३३ हजार पुगेको छ। राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनबाट पनि नाम दर्ता गर्न मिल्ने व्यवस्था भएपछि नयाँ मतदाता उल्लेख्य रूपमा बढेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।
प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुबका अनुसार कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा ७ हजार ३ सय ६२ जना नयाँ मतदाता दर्ता भएका छन् । सुर्खेतमा यसअघि २ लाख ४४ हजार ६ सय ७६ मतदाता थिए ।
यस्तै जुम्लामा ३ हजार ३६ (पुराना ६७ हजार ७४४), दैलेखमा ३ हजार ६२६ (पुराना १ लाख ५९ हजार ८६५), सल्यानमा ३ हजार १८०, रुकुम पश्चिममा २ हजार ८४० (पुराना १ लाख ४ हजार २३८), जाजरकोटमा २ हजार २१०, कालिकोटमा १ हजार ७७६ (पुराना ७२ हजार ८०), डोल्पामा १ हजार ७ (पुराना २२ हजार ९८५), हुम्लामा ८२४ (पुराना ३३ हजार ३०८) र मुगुमा ७७४ (पुराना ३८ हजार ९१) नयाँ दर्ता भएका छन् ।
जुम्लामा मतदाता वृद्धिसँगै दुई नयाँ मतदान केन्द्र थप्ने तथा एक केन्द्र स्थानान्तरण गर्ने सिफारिस केन्द्रीय निर्वाचन आयोगमा पठाइएको छ । हिमा–१ र पातारासी–७ मा एक–एक केन्द्र थप्ने तथा तिला–९ को केन्द्र अन्यत्र सार्ने प्रस्ताव गरिएको हो । हाल जुम्लामा १ नगरपालिका र ७ गाउँपालिकासहित ८३ मतदान स्थल र १०८ मतदान केन्द्र (२ अस्थायी सहित) रहेका छन् ।
यसपटक दर्ता भएका नयाँ मतदातामध्ये ८० प्रतिशतभन्दा बढी १७–२५ वर्ष उमेर समूहका रहेका छन् । जेन–जी आन्दोलनपछि देखिएको राजनीतिक सक्रियता र पछिल्ला घटनाक्रमले युवालाई मतदानतर्फ आकर्षित गरेको निर्वाचन कार्यालयको विश्लेषण छ । विगतमा निर्वाचनमा खासै चासो नदेखाउने युवाहरू पनि यसपटक राजनीतिक बहसदेखि प्रचारप्रसारसम्म सक्रिय रूपमा सहभागी हुन थालेको स्थानीय तहहरूले जनाएको छ ।
निर्वाचन आयोगले १० असोजदेखि ५ मंसिरसम्म मतदाता नामावली दर्ता तथा अद्यावधिकको समय तोकेको थियो । नेपाली नागरिकता प्राप्त गरी आगामी २० फागुन २०८२ सम्म १८ वर्ष उमेर पूरा गर्ने सबैलाई नाम दर्ता गर्न आह्वान गरिएको थियो ।
कर्णालीमा नयाँ मतदाताको उल्लेख्य वृद्धि र युवाको बढ्दो सहभागितालाई आगामी निर्वाचनको महत्वपूर्ण सूचकका रूपमा हेरिएको छ ।

झिल्को खबर । १९ मंसिर २०८२, बिहीबार १२:३३