

सुर्खेत । सुर्खेत महिला जेसीजको १५औँ वार्षिक साधारण सभाले वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरेको छ। साधारण सभाले जेसी मनु सुनारलाई आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो।
नव–निर्वाचित समितिमा कार्यकारिणी उपाध्यक्षमा जेसी भिमा शाही र जेसी पशुपति बुढा चयन भएका छन्। त्यस्तै उपाध्यक्ष पदमा जेसी स्वस्तिका बी.सी, जेसी रितु बयलकोटी, जेसी निशा बुढा र जेसी लक्ष्मी बी.सी निर्वाचित भएका छन्।
सभामा संगठनको विगत वर्षको गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका योजनाहरू प्रस्तुत गरिएको थियो। पदाधिकारीले प्रस्तुत गरेका प्रतिवेदनमाथि सहभागी सदस्यहरूले छलफल गर्दै विभिन्न सुझावहरूसमेत दिएका थिए।
अध्यक्षमा निर्वाचित सुनारले नेतृत्वको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै आगामी वर्ष सुर्खेत महिला जेसीजलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
साधारण सभामा संगठनका पूर्व पदाधिकारी, सदस्य तथा अन्य अतिथिहरूको उपस्थिति थियो। नवनिर्वाचित कार्यसमितिले चाँडै नै पूर्ण समिति गठन गरी वार्षिक कार्ययोजना अनुसार गतिविधि सञ्चालन गर्ने बताएको छ।

झिल्को खबर । २२ मंसिर २०८२, आईतवार ०६:५२