
सुर्खेत । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटमा उमेदवार छनोटमा विवाद देखिएको छ । जाजरकोट निर्वाचन क्षेत्र नं. १ बाट उमेदवार छनोट गर्ने क्रममा पार्टी विधानविपरीत गरिएको आरोप लगाउँदै केन्द्रीय आयोजक समिति सदस्य गणेशप्रसाद सिंहले पार्टी सदस्यता त्याग गरेका छन् ।
सिंहले आइतबार पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पठाएको औपचारिक पत्रमा जाजरकोटबाट उमेदवार छनोट गर्दा स्वेच्छाचारी, आदेशात्मक र मालिक–मुखिया प्रवृत्तिको निर्णय लादिएको उल्लेख गरेका छन् । पार्टी एकता घोषणा सभा–सम्मेलन २०८२ कात्तिक १९ गते पारित अन्तरिम विधानको धारा ९९ विपरीत निर्णय गरिएको उनले पत्रमा उल्लेख गरेका छन् ।
सिंहले पत्रमा अगाडि लेखेका छन्, “१० पुसमा सम्पन्न जिल्ला पार्टी जाजरकोटको बैठकमा शक्ति बस्नेतले आगामी निर्वाचनमा उमेदवार नबन्ने स्पष्ट धारणा व्यक्त गरेका थिए ।”
“म यो पटक पार्टी चलाएर बस्छु, तपाईंहरू सल्लाह र तयारी गर्नुहोस्” भन्ने भनाइ बैठकमा जानकारी गराइएको उनले बताए ।
उक्त बैठकपछि जिल्ला पार्टीले सम्मानार्थ रूपमा बस्नेतसहित रामदीप आचार्य, गणेशप्रसाद सिंह, कृष्ण विसी, पार्वती थापा र महेश अधिकारीको नाम उमेदवारका रूपमा सिफारिस गरेको थियो । तर, त्यसपछि भएको केन्द्रीय तहको निर्णयले जिल्ला तहको छलफल र सहमति बेवास्ता गरेको सिंहको आरोप छ ।
काठमाडौंस्थित बस्नेतको निवासमा भएको भेटघाटमा पनि उनले आफू उमेदवार नबन्ने मानसिकता बनाइसकेको र त्यसै कारण जिल्ला बैठकमा समेत सहभागी नभएको स्पष्ट पारेको सिंहले उक्त पत्रमा उल्लेख गरेका छन् । पछि अध्यक्षसँग भएको छलफल र पुनः संवादका प्रयासहरू हुँदाहुँदै अन्ततः पार्टीले जबर्जस्ती रूपमा बस्नेतलाई उमेदवार बनाएको उनको भनाइ छ ।
“उमेदवार नबन्ने स्पष्ट भनाइ हुँदाहुँदै पनि अध्यक्षस्तरबाट निरन्तर दबाब सिर्जना गरी टीका लगाएर आदेश दिने शैली अपनाइयो,” सिंहले पत्रमा उल्लेख गरेका छन् । यस्तो निर्णयले पार्टीभित्र सामूहिक नेतृत्वको मूल्य समाप्त पार्दै कार्यकर्तालाई ‘रैती र दास’ सरह व्यवहार गरिएको आरोप उनले लगाएका छन् ।
यी सबै कारण देखाउँदै सिंहले आफू नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय आयोजक समिति सदस्य तथा साधारण सदस्य समेत नरहेको औपचारिक घोषणा गरेका छन् । सिंह यसअघि कर्णाली प्रदेश सभा सदस्य भइ प्रदेशको मन्त्री भइसकेका व्यक्ति हुन् ।

झिल्को खबर । ५ माघ २०८२, आईतवार २०:३९