सुर्खेतमा हवाई फायर गरी लागुऔषध कारोबारी नियन्त्रणमा

सुर्खेत । हवाई फायर गरेर सुर्खेत प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर नगरपालिका–८ मा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीले हवाई फायर गरेर घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको चिङ्गाड गाउँपालिका–४ का ४७ वर्षीय ललित चन्दलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

शंकास्पद अवस्थामा फेला परेका चन्दलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि हातपात तथा आक्रमण गरी ठूलो मात्राको लागूऔषध ब्राउनसुगरसहित भाग्न खोजेपछि एक राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको डीएसपी बुढथापाले बताए ।

उनको साथबाट ३७ ग्राम ७ सय ३० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरी थप अनुसन्धान भइरहेको उनले बताए ।