

सुर्खेत । चीनसँग सीमा जोडिएको मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ स्थित मुगुम गाउँ जाडो सुरु भएसँगै सुनसान बन्छ । समुद्री सतहबाट करिब ३,८०० मिटर उचाइमा अवस्थित यो गाउँका स्थानीय कात्तिकको अन्तिम सातादेखि जाडो छल्न घरमा ताल्चा ठोकेर अस्थायी रूपमा बसाइँ सर्ने गर्छन् । उनीहरू वैशाखको पहिलो सातातिर मात्रै गाउँ फर्किन्छन् ।
मुगुमका स्थानीयको यो बर्सेनिको जीवनचक्रको बीचमा यस वर्ष प्रतिनिधिसभा सदस्यको निर्वाचन परेको छ । फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न उनीहरू गाउँ फर्किनुपर्नेछ । जाडो अझै पूर्ण रूपमा सकिएको छैन । कठ्याङ्ग्रिँदो चिसो र हिउँको बीचमा मतदान केन्द्रसम्म कसरी पुग्ने भन्ने चिन्ताले उनीहरूलाई सताएको छ ।
यसअघि प्रायः वैशाख या जेठमा निर्वाचन हुँदा गाउँ फर्किएर मतदान गर्न उनीहरूलाई सहज हुन्थ्यो । त्यतिबेला मौसम अनुकूल हुन्थ्यो, बाटोघाटो खुल्थ्यो । यसपटक अवस्था फरक छ । जाडोयाममै निर्वाचन हुने भएकाले अधिकांश मतदाताका लागि मतदान केन्द्रसम्मको यात्रा जोखिमपूर्ण र खर्चिलो दुवै छ ।
मुगुम गाउँमा करिब तीन सय घरधुरी छन् । हिउँ बढेपछि गाउँलेहरू करिब दुई घण्टा टाढाको सिरानीचौरमा झर्छन् । केही परिवार सदरमुकाम गमगढीमा बसोबास गर्छन् भने कतिपय जुम्ला र काठमाडौंसम्म पुग्ने गरेका छन् ।
अहिले गाउँमा स्थायी रूपमा बस्ने कोही छैनन् । गुम्बामा नियमित पूजा सञ्चालन गर्न एकजना लामा गुरु पुग्ने गरेका छन् । उनी पनि सिरानीचौरबाट दैनिक आवतजावत गर्छन् । गाउँका अधिकांश घरका ढोकाहरू बन्द छन् भने आँगन र बस्ती सुनसान छन् ।
मतदान गर्न गाउँ फर्किनु स्थानीयका लागि सहज छैन । सिरानी चौरबाट मात्रै पनि दुई घण्टा उकालो हिँड्नुपर्छ । गमगढीबाट आउन–जान कम्तीमा दुई दिन लाग्छ भने जुम्लाबाट करिब तीन दिन पैदल यात्रा गर्नुपर्ने अवस्था छ । हिमाली भेगको उकालो–ओरालो, हिउँले ढाकिएको बाटो र चिसो हावाले यात्रा कठिन बनाउँछ । वृद्धवृद्धा, सुत्केरी महिला र बालबालिका लिएर मतदान केन्द्रसम्म पुग्नु झन् चुनौतीपूर्ण हुने स्थानीय बताउँछन् ।
गमगढीबाट मतदान गर्न आउँदा–जाँदा प्रतिव्यक्ति करिब तीन हजारभन्दा बढी खर्च हुने स्थानीय बताउँछन् । जुम्लाबाट पुग्न १० हजारभन्दा बढी खर्चिनुपर्ने अवस्था छ । एउटै घरका तीनरचार जना मतदाता गाउँ फर्किंदा खर्च अझ बढ्छ ।
जसका कारण धेरै परिवार मतदानका लागि गाउँ फर्किन सक्ने अवस्था नदेखिएको वडाध्यक्ष च्याबा लामा तामाङ बताउँछन् । मतदान नागरिकको अधिकार हो, तर यस्तो खर्च र जोखिम व्यहोरेर आउन सबैका लागि सम्भव हुँदैन, उनले भने ।
मुगुम गाउँको मतदान केन्द्रमा कुल ६०९ मतदाता छन्, जसमध्ये ३३८ पुरुष र २७१ महिला छन् । राजनीतिक दलहरूले मतदातालाई कसरी सहज रूपमा मतदान प्रक्रियामा सहभागी गराउने भन्ने विषयमा ठोस पहल नगरेको गमगढीमा बस्दै आएका मुगुमवासीहरू बताउँछन् ।
सोही वडाका पूर्व वडाध्यक्ष कार्मा तामाङका अनुसार अहिले गाउँ पूर्ण रूपमा सुनसान छ । बासिन्दा नै नभएको ठाउँमा कसले प्रचार गर्ने ? राजनीतिक दलका नेता–कार्यकर्तासमेत यहाँ पुग्न सकेका छैनन्, उनले भने ।
गमगढीमा बस्दै आएका मुगुम गाउँका टुण्डुल तामाङका अनुसार जाडो मौसममै निर्वाचन हुँदा असहज भएको छ । धेरै मतदाता यसपटक मतदान प्रक्रियाबाट बाहिरिन सक्छन् । सबैलाई आउन सक्ने अवस्था छैन, उनले भने ।

झिल्को खबर । ५ फाल्गुन २०८२, मंगलवार २१:४६