काठमाडौं । सरकारले नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने र विदेशस्थित अध्यागमनबाट समेत डिपोर्ट गराउन थालेपछि ओलम्पिकमा तरंग उत्पन्न भएको छ ।
अवैधानिक निर्वाचनबाट नेपाल ओलम्पिक कमिटी गठन गरेका जीवनराम श्रेष्ठलाई कुवेतस्थित अध्यागमन विभागले मंगलबार डिपोर्टको प्रयास गरेपछि ओलम्पिकभित्र भुईचालो गएको हो ।
यद्धपी ओलम्पिक कमिटी अफ एसिया ओसिएले पहल लिएर उनलाई कुवेतबाट डिपोर्ट हुन रोकेको थियो । त्यसपछि ओसिए सहितको बैठकमा करिब दुई घण्टा ढिला गरी जीवनराम श्रेष्ठ पुगेका थिए ।
काठमाडौंको अध्यागमनलाई छल्दै जीवनराम श्रेष्ठ ओसिए नेतृत्वको बैठकमा सहभागी हुन मंगलबार कुवेत पुगेका थिए । नेपालको अध्यागमनलाई छल्दै कुवेत पुगेका जीवनरामलाई डिपोर्ट गर्न सरकारले सूचना जारी गरेपछि ओलम्पिकभित्र ठुलो तरंग पैदा भएको छ ।
ओलम्पिकको नाममा विदेश भ्रमण गर्न सरकारले रोक लगाएपछि जीवनराम श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर विरोध जनाएका छन् । सिंगो ओलम्पिकको निर्वाचन प्रकृयामा सञ्चारमाध्यमलाई बाहिर राख्दै गुपचुप चुनाव गराएका जीवनरामले विदेशस्थित एयरपोर्टमै डिपोर्टमा पर्न थालेपछि पत्रकार गुहारेका हुन् ।
‘नेपाली नागरिकको हिडडुल गर्न पाउने संवैधानिक अधिकार र मानव अधिकारलाई कुन्ठित गर्ने कार्य भएको छ ।’ पत्रकार सम्मेलनमा जीवनरामले भने ।
जीवनराम मात्र नभएर पाकिस्तानमा आयोजना गरिएको साग खेलकुदको बैठकमा जान लागेका राजीव श्रेष्ठलाई समेत नेपालस्थित अध्यागमनले रोकेको थियो । आफ्नो हिडडुल गर्न पाउने अधिकार हनन भएको भन्दै श्रेष्ठले अदालतमा रिट दायर गर्दै अन्तरिम आदेश माग गरेका थिए । तर अदालतले अन्तरिम आदेश दिन अस्विकार गर्दै नियमित प्रकृयाबाट मुद्धाको फैसला हुने आदेश दिएको छ ।
सर्वोच्च अदालतको आदेशलाई लत्याउँदै, नेपाल सरकारको निर्देशनको अवज्ञा गर्दै, अन्तराष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बेगर ओलम्पिक निर्वाचन सम्पन्न गरेका जीवनराम नेतृत्वको कमिटीलाई सरकारले कारबाही गरेको छ । सोही अनुसार सरकारले कारबाही स्वरुप अध्यागमनमा पत्र लेख्दै ओलम्पिकका पदाधिकारीलाई विदेश जान रोक लगाएको छ । सरकारले ओलम्पिक भवन सहितका सरकारी स्रोत, साधन प्रयोग गर्न नदिनेदेखि बैंक खाता रोक्का गर्नेसम्मको निर्णय गरेको छ ।
गुपचुप चुनाव सकेर अवैधानिक निर्वाचनलाई मान्यता दिलाउन अन्तर्राष्ट्रिय लबिङ तिव्र बनाएका जीवनरामले अफठ्यारोमा परेपछि पत्रकार सम्मेलनमार्फत सार्वजनीक रुपमा आफुलाई अन्याय परेको बताउन थालेका छन् ।
झिल्को खबर । ३० फाल्गुन २०८१, शुक्रबार १७:१३