सत्तामा संकट देखिएपछि दुई दलीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा संकट परेको चर्चा चलिरहेका बेला बुधबार दुई दलीय संयन्त्रको बैठक बस्ने भएको छ।

साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। संयन्त्र भित्रकै नेता गगन थापा लगायनले सरकारको चर्काे कटाक्ष गर्दै प्रधानमन्त्रीको बेडरूमसम्मै विचौलिया पुगेको टिप्पणी गरेपछि दुइ दलबीचको समझदारीमा संकट देखिएको थियो ।

भेटमा शिक्षक आन्दोलन, गभर्नर नियुक्तिलगायत पछिल्लो परिस्थितिको विभिन्न समस्या समाधानका लागि उपायहरूको खोजी गर्न संयन्त्रको बैठक बोलाउने समझदारी बनेको थियो ।

संयन्त्रमा शिक्षक आन्दोलनको विषय र त्यसलाई समाधानका उपायबारे छलफल हुने बताइएको छ। शिक्षकहरुको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै संयन्त्रकै सदस्यहरूले आलोचना गर्दै आएका छन्।

सरकारले वैशाख १२ गते सुरू हुनेगरी संघीय संसदको बर्खे अधिवेशन बोलाएको छ। सोही अधिवेशनमा विद्यालय शिक्षा विधेयक टुंगो लगाइने भएकाले शिक्षकहरुलाई आन्दोलन फिर्ता गरी कक्षाकोठामा फर्कन सरकारले आह्वान गरेको थियो।