
सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले अहिलेको सरकारले खेल क्षेत्रलाई महत्व नदिएको आरोप लगाएका छन् ।
बुधवार कालिकोट पचालझरना गाउँपालिका पडेक्षामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै नेता शाहीले यस्तो आरोप लगएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रिय स्तरको प्रतियोगिता कर्णालीमा आयोजना गर्ने भनिए पनि प्रदेश सरकार र संघीय सरकारको गैर जिम्मेवारपनका कारण कर्णालीमा आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित बनेको भन्दै नेता शाहीले अहिलेको सरकारले खेल क्षेत्रलाई महत्व दिन नसकेको बताए ।
संघीयता पश्चात कर्णाली प्रदेशको आफु नेतृत्वको सरकारले कर्णाली प्रदेशमा खेल क्षेत्रको विकास लागि पूर्वाधार निर्माण गर्न आवश्यक बजेटको व्यवस्थापन गरि खेल पूर्वाधार निर्माण गरे पनि अहिलेको सरकारले त्यसलाई व्यवस्थापन गर्न नसकेको आरोप लगाए ।
‘खेल क्षेत्रको महाकुम्भ मेलाको रुपमा चिनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्नकै लागि कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण गरे पनि खेल आयोजनाका लागि अहिलेको सरकारले जस लिन खोज्दा खेलाडीहरुको खेल जीवन माथि खेलबाड भएको छ,’नेता शााहीले भने,‘अरु जे जस्तो भए पनि राजनीति प्रतिसोधको नाउँमा खेलाडीहरुलाई अचानो बनाउन राम्रो हुदैन ।’
पछिल्लो समय खेलाडीहरुले खेल क्षेत्रमा आफ्नो भविश्य नदेखेका कारण विदेशिनु पर्ने बाध्यता रहेको भन्दै नेता शाहीले खेल क्षेत्रमा खेलाडीहरुको भविश्यको लागि भए पनि यसमा राजनीति गर्न नहुने बताए ।
जिल्ला स्तरबाट छनौट भएर गएका खेलाडीलाई कालिकोट जिल्लालाई खेल क्षेत्रबाट चिनाउन निर्देशन दिदै नेता शाहीले खेलाडीहरुलाई अग्रिम विजयको शुभकामना व्यक्त गरे । प्रतियोगितामा शुभकालिका गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहबाट ५ सय ६० जना खेलाडीहरुको सहभागिता रहेको छ ।
विवशकुमार सेजुवाल । ३ बैशाख २०८२, बुधबार २१:१६