पचालझरना गाउँपालिकाको बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

कालिकोट । कालिकोट पचालझरना गाउँपालिकाले आ.व. २०८१÷०८२ को बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष देवराज शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक प्रतिवेदन प्रशासन शाखा प्रमुख कमल बहादुर बमले प्रस्तुत गरेका थिए।

सुनुवाई कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, पत्रकारहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओप प्रकाश सापकोटाले आफू २०८४ सालसम्म गाउँपालिकामा रहेर इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

राजनीतिक दलका प्रतिनिधिहरूले योजना समयमै सम्पन्न गर्नुपर्ने, बजेट फ्रिज हुन नदिने व्यवस्था मिलाउनुपर्ने लगायतका सुझावहरू प्रस्तुत गरे। उपाध्यक्ष अल्किना बमले गाउँपालिकाको न्यायिक समितिको काम प्रभावकारी रूपमा अघि बढिरहेको जानकारी दिइन्।

अध्यक्ष देवराज शाहीले सबैले दिएका सकारात्मक सुझावहरूलाई पालिकाले गम्भीरतापूर्वक लिने बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए। उनले आगामी आर्थिक वर्षमा सरकार जनताको सेवामा रातदिन नभनी खटिने बताएका छन्।