भेरी किनारमा नमुना आधुनिक शहरको गृहकार्य सुरु

सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगास्थित भेरी नदीको किनारमा ४० अर्ब लागतमा नयाँ शहर निर्माणको गृहकार्य सुरु भएको छ । शुक्रबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गुर्भाकोट नगरपालिकामा भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर परियोजनाको उद्घाटन गरेका हुन् । खड्काले २० वर्षपछि भेरी किनारमा नमूना, आधुनिक शहर निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने बताए । स्थानीय नागरिकहरूसँगको छलफलपछि मन्त्रिपरिषद्ले गुरूयोजनालाई कानुनी रूप दिने मन्त्री खड्काले बताए ।

सरकारले आर्थिक वर्ष ०६८र०६९ को नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमूना आधुनिक शहर निर्माणको घोषणा गरेपनि झण्डै १० वर्षपछि आयोजना कार्यालय स्थापना गरिएको हो । मन्त्री खड्काले स्थानीय तहलाई गुरूयोजना अनुसार काम गर्न निर्देशन दिएका छन् ।

‘विकास निर्माणका कामहरू गर्दा कम्तिमा एकसय वर्षलाई सोचेर स्थानीय तहहरूले काम गर्न जरूरी छ,’ ‘उनले भने, ‘ अहिले स्थानीय तहले गरेका विकास–निर्माणका कामहरू दीर्घकालीन छैनन् ।’

खड्काले भेरी किनारमा निर्माण हुन लागेको नमूना आधुनिक शहरका लागि बजेटको अभाव नहुने दाबी गरे । आधुनिक शहरका लागि स्वदेशी मात्रै होइन, विदेशबाट पनि स्रोत जुटाइने उनको प्रतिबद्धता छ । भौतिक पूर्वाधार शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरीगंगा उपत्यका नमूना आधुनिक शहरको गुरूयोजना निर्माण अन्तिम चरणमा रहेको बताए । उनले २१०० सालभित्रमा आधुनिक शहर निर्माणका कामहरू सम्पन्न हुने बताए । उनले नेपालमा बन्दै गरेका नयाँ शहर मध्ये भेरीगंगा नमूना शहर ११ ओैं शहर भएको बताए ।

‘नेपालका अरू १० वटा नयाँ शहरको कार्यालय स्थापना गरेर काम गरिरहेका छौं,’ ‘उनले भने,‘नयाँ शहरको ११ ओैं कार्यालय स्थापना गरेर ओैपचारिक काम सुरू गरेका छौं ।’

सहसचिव अधिकारीले पहाडी जिल्लाबाट तराईमा हुने बसाइँ सराई रोक्नका लागि भेरी नदी किनारको आधुनिक शहर महत्वपूर्ण हुने बताए । नयाँ शहर योजनाले भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेट्ने छ । सहसचिव अधिकारीले तीनवटै पालिकासँग समन्वय र सहकार्य गरेर काम गर्ने बताए ।