कालिकोट जीप दुर्घटनाः गम्भीर घाइतेको हेलिकोप्टरबाट उद्दार


सुर्खेत । कालिकोटमा भएको जीप दुर्घटना गम्भीर घाइतेको हेलिकोप्टरबाट उद्दार गरिएको छ । दुर्घटनामा १३ जना घाइतेमध्य गम्भीर सात जनाको नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको पलाता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायले जानकारी दिए ।

उनकाअनुसार अन्य घाइतेहरु लिन पुनः हेलिकोप्टर सुर्खेत पुगेर फर्किनेछ । पलाता गाउँपालिकाको वडा नम्बर ६ नेटाबाट यात्रु लिएर थिर्पु जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो जीप राडुनेटामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा हालसम्म ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा पलाता गाउँपालिका–५ खिनका पदम बम, छायाँ शाही, वडा नम्बर ६ का कुसुम कला शाही, भगवति रोकाया, सोही वडा उखाडीका गणेश शाही र वडा नम्बर ३ का दमन रोकाया छन् । दुर्घटनाको कारण खुलेको छैन् । उकालो सडक र लोड बढी भएकाले जीप दुर्घटना भएको अनुमान प्रहरीको छ ।