सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई सरकारले दिएको कैद माफी उल्ट्याइदिएको छ । यसका साथै सर्वोच्चले ढकाललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।
संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको सजाय माफ दिएका थिए । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
ढकाल नेपालगञ्जका चेतन मानन्धरको हत्या कसुरमा दोषी ठहर भइ जेल परेका थिए । तर, सरकारले उनको सजाय माफी दिएपछि उनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले ढकालले पाएको माफी बदर गरिदिएको हो ।
यो मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो । बुधबार यसको सुनुवाइ सकिएको थियो भने आज अदालतले आदेश सुनाएको हो ।
यो मुद्दाको गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ निर्धारण भएको थियो ।
गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।
झिल्को खबर । १६ कार्तिक २०८०, बिहीबार १५:५७