मिडिया एउटा अभिव्यक्त गर्ने सशक्त माध्यम हो । अहिलेको समयलाई मिडियाको युग पनि मानिन्छ । छापा, विद्युतीय, अनलाइनलाई मिडिया मान्ने प्रचलन छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि अहिले मिडियाको बाढी आएको छ । प्रजातन्त्र प्राप्तिका साथसाथै संघीय संरचनामा गएपछि मिडियाको बाहुल्यता बढेको छ । यसका साथै मिडिया आवद्ध हुने पत्रकारहरुको संख्या पनि सामान्य बृद्धि भएको छ । राज्यको पुनः संरचनासँगै पत्रकारिताको पनि पुनः संरचना आवश्यक छ । संघीयताको अभ्याससँगै मिडियाको पुनः संरचना र पत्रकारिताको विकास तिब्र रुपमा बढेको छ । यससँगै मोफसल, समावेशीता, भाषाभाषी र लक्षित वर्गहरुको पनि सहभागितामूलक प्रतिनिधित्व हुन आवश्यक छ । बाध्यात्मक अवस्था बाहेक उक्त क्षेत्रको सहभागिता न्यून देखिन्छ । संविधानको मर्म र भावनाअनुसार मिडिया, पत्रकारिता र समग्र क्षेत्रमा अर्थमूलक सहभागिता गराउन आवश्यक छ । अहिलेको परिवेश अनुसार मिडियामा दलित समुदायको सहभागिता न्यून छ । त्यसो त हरेक क्षेत्रमा दलितहरुको सहभागिता कम छ । अझ त्यसमा पनि मिडिया चुनौतीको पेशा भएकोले यसमा अझ सहभागिता कम भएको पाइन्छ । न्यू मिडियाको विकाससँगै पत्रकारिता र समग्र क्षेत्रको उन्नवयनको लागि सहभागिातमूलक विकास, नीतिगत निर्णयमा अर्थपुर्ण सहभागिता, कानुन कार्यान्वयनमा सहजिकरण, मिडिया पुनः संरचना, बाध्यात्मक अवस्था भन्दा पनि समग्र क्षेत्रको नेतृत्व लिन अभिवृद्धि गराउन आवश्यक छ ।
यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ, पत्रकारिता सम्बन्धी विभिन्न पेसागत संगठन, छापा माध्यम, अनलाईन, रेडियो र टेलिभिजनमा नेतृत्व तथा सदस्यहरुमा दलित समुदायका पत्रकारहरुको सहभागिता बारे छोटो विश्लेषण गर्न खोजिएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत मिडियाको केन्द्रबिन्दु मानिएपनि दलित समुदायका पत्रकारहरुको सहभागिता न्यून छ । सम्पादकीय नेतृत्वदेखि संवाददाता र व्यवस्थापनको जिम्मेवारीमा सहभागिता कम पाइएको छ । सुर्खेतको पत्रकारितालाई हेर्दा पञ्चायती कालमा साविक वीरेन्द्रनगर–३ का पट्टुसिंह नेपालीलाई पत्रकार भनेर चिनिने गरिन्थ्यो । भूमिगत भएर, छद्म नाम राखेर उनले पत्रकारिता गरेको उनका समकक्षीहरु बताउँछन् । अहिलेको जस्तो खुला समाज नभएकोले पनि उनले ज्यान जोखिममा राखेर पत्रकारिता गरेको पाइन्छ । यसबारे थप अध्ययन गर्न तथा केही तथ्य संकलन गर्नका लागि कठिनाई भएको छ । स्वर्गीय पत्रकार नेपालीकोे योगदान र भूमिकालाई थप ब्याख्या तथा सुर्खेती पत्रकारितामा दलित समुदायका पत्रकारहरुको इतिहास अध्ययन गर्न स्रोतको अभावमा थप प्रभावकारी बनाउन सकिएको छैन । त्यस्तै भेरीगंगा–८ कुइरेका लालसिंह मिजार पत्रकारिता सुरु गर्ने सुर्खेतको दोस्रो दलित पत्रकार हुन् । २०५२ सालमा रेडियो नेपालको तत्कालीन क्षेत्रीय प्रशारण केन्द सुर्खेत (हालः प्रादेशिक प्रसारण केन्द्र)बाट पत्रकारितामा होमिएका उनी नै सरकारी सञ्चार क्षेत्रमा काम गर्ने पहिलो दलित पत्रकार हुन् । तीन दशक पत्रकारिता क्षेत्रमा पार गरीसकेका उनी हालः रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रमा प्राविधिक अधिकृत पदमा कार्यरत छन् ।
त्यस्तै तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्दमा सुर्खेतको भेरीगंगा–८ का जय बहादुर सुनार (जेवी सुनार)ले पत्रकारिता गरेको इतिहास छ । जनयुद्ध चरम उत्कर्शमा पुगेको बेला उनी निकै जोखिम मोलेर पत्रकारितामा होमिएका थिए । जनयुद्धमा २०५९ अन्त्यतिर जाजरकोटको गर्खाकोटबाट प्रशारण भएको डोको रेडियो (भेरी कर्णाली, जनगणतन्त्र) मा उनी कार्यक्रम संचालक भएर पत्रकारितामा क्रियाशिल भए । शान्ति प्रक्रियापछि बाँकेको नेपालगञ्जको रेडियो जनआवाज, त्यसपछि सुर्खेतको भेरी कर्णाली, हिमाल एफएममा पत्रकारिता गरेका उनी हाल भेरीगंगा–८ जहरेमा रहेको बिजी एफएममा कार्यरत छन् । २०६६ सालमा तत्कालीन हिमाल एफएमको स्टेशन म्यानेजर भएर जिम्मेवारी निर्वाह गरेका उनी नै रेडियोको नेतृत्व गर्ने पहिलो दलित पत्रकार हुन् । दलितहरु पत्रकारहरुको उल्लेखनीय सहभागिता भने करिव ६० को दशकमा सुरु पाइन्छ । सुर्खेतमा स्थापना भएको काँक्रेविहार दैनिक सञ्चालन भएपछि आफ्नो सौख र रुचीका साथै चुनौती मोल्न सक्ने मनसायका साथ केही दलित युवाहरु पत्रकारितामा आवद्ध भएका छन् । भेरी साप्ताहिकबाट पत्रकारिता सुरु गरेका वीरेन्द्रनगर–४ का ललित बसेलले काँक्रेविहार दैनिकबाट व्यवसायिक रुपमा पत्रकारितामा होमिएको इतिहास छ । २०६० को दशकदेखि पत्रकारिता सक्रिय उनले २०६८ सालदेखि सुर्खेतपत्र दैनिक स्थापना गरे । हालः नेपाल पत्रकार महासंघ सुर्खेतको अध्यक्ष समेत रहेका उनी २०६३ देखि हालसम्म गोरखापत्र दैनिकमा पनि आवद्ध छन् ।
नेपाल पत्रकार महासंघ सुर्खेतको पहिलो दलित पदाधिकारी (२०६१ देखि २०६४ सम्म कोषाध्यक्ष) भएका बसेल नै नेपाल पत्रकार महासंघ सुर्खेतको अध्यक्ष हुने पहिलो दलित समुदायको पत्रकार हुन् । ६० कै दशकमा एफएम रेडियोहरु संचालनमा आएपछि दलित पत्रकारिताको क्षेत्रमा टेकेन्द्र विश्वकर्माको नाम अग्रपंक्तिमा आउँछ । सुर्खेतस्थित तत्कालीन भेक आवाज एफएम, हिमाल एफएम, बुलबुले एफएममा रेडियो पत्रकारिता गरेका विश्वकर्मा पछिल्लो सुर्खेतबाट प्रकाशित जनचासो खबर दैनिकको सम्पाकीय नेत्तृव गरिरहेका पाइन्छ । दलित पत्रकारहरुको साझा संस्था राष्ट्रिय दलित पत्रकार संघको संस्थापक केन्द्रीय उपाध्यक्ष समेत रहेका विश्वकर्माको कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट प्रदेश एफएममा आवद्ध छ । दलित पत्रकारहरुको पेशागत हक, हित र अधिकारका क्षेत्रमा क्रियाशिल रहि दुई कार्यकाल (२०७० देखि २०७६ सम्म) नेपाल पत्रकार महासंघ सुर्खेतको कोषाध्यक्ष र (२०७७ देखि २०८० सम्म) एक कार्यकाल सह–सचिवको जिम्मेवारी निर्वाह गरेको पाइन्छ ।
त्यस्तै, भेरीगंगा–७ काठेघारीका टेकेन्द्र बस्याल २०६४ सालदेखि सुर्खेतको लोकमञ्च दैनिकदेखि पत्रकारिता सुरु गरेका हुन् । सुर्खेतकै रेडियो भेरी एफएममा केही समय पत्रकारिता गरेका उनले बाँकेको नेपालगञ्जमा रहेको बागेश्वरी एफएमबाट व्यावसायीक रुपमा पत्रकारिता सुरु गरेका हुन् । नेपालगञ्जमै रहेर नागरिक दैनिक, सोही ठाउँको कृष्णसार एफएम र हिमाल एफएम, ग्लोबल समाचार दैनिक, सुर्खेतको रेडियो भेरीगंगामा विभिन्न भूमिकामा रहेर काम गरेका उनले सुर्खेतको जहरे बजारमा हाल आफ्नै नेतृत्वमा बिजी एफएम संचालन गरिरहेका छन् । उनी बाँकेको हिमाल एफएमको स्टेशन म्यानेजर, नागरिकको सम्वाददाता, ग्लोबल दैनिकको प्रकाशक, भेरीगंगा एफएमको सचिव भएर पत्रकारितालाई अगाडि बढाएका थिए ।
त्यस्तै , वीरेन्द्रनगर–१० का टोप बहादुर विक पनि सुर्खेती पत्रकारिता क्षेत्रमा क्रियाशिल अर्काे दलित पत्रकार हुन् । २०६२ देखि काँक्रेविहार दैनिकबाट पत्रकारिता सुरु गरेका उनले सुर्खेतपत्र दैनिक, प्रदेश एफएममा काम गरेर हालः आफ्नै नेतृत्वमा जनचासो दैनिक संचालन गर्दै आएका छन् । यसैगरी पश्चिम सुर्खेतको डाँडादरा एफएम बाबियाचौरबाट पत्रकारिता सुरु गरेका चौकुने गाउँपालिका–२ का जगतदल जनाला विक पनि पत्रकारितामै सक्रिय छन् । बुलबुले एफएम, साझाविसौनी दैनिक र शिक्षा पत्रमा काम गरिसकेका उनी हाल जनचासो खबर दैनिक र उकेरा अनलाइनमा विशेषतः सामाजिक मुद्दामा निरन्तर कलम चलाउँदै आएका छन् । उनै विक राष्ट्रिय दलित पत्रकार संघ सुर्खेतको संस्थापक अध्यक्ष समेत हुन् । सुर्खेतभन्दा बाहिरी जिल्लाबाट सुर्खेतमा झेरर पत्रकारिता गरिरहेका संजीव बराल, गोविन्द विश्वकर्मा पनि नेपाल पत्रकार महासंघ सुर्खेतका साधारण सदस्य छन् । यद्यपी उनीहरु पत्रकारितासँगै अन्य पेशामा अलि बढी सक्रिय छन् । सुर्खेतमा अहिले केही दलित युवाहरु आकर्षित भएको पाइन्छ । सुर्खेतकी मालति विक सुक्ष्मदृष्टि साप्ताहि, क्विक खबर डटकम, काँक्रेबिहार दैनिक हुँदै प्रदेश एफएम नेटवर्कमा कार्यरत छिन् । सुर्खेतकै डिलु सुनार सुनगाभा टेलिभिजन हुँदै कचहरी प्रेस क्लवमा समाचार बाचिकाको रुपमा कार्यररत छिन् । त्यस्तै हुम्लाका भीमबहादुर परियार कचहरी प्रेस क्लब संचालन गरेर स्वरोजगारमूलक मिडिया संचालन गरेका छन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कूल १७४ जना सदस्यहरुमध्ये दलित पत्रकारहरुको संख्या ७ जना मात्र छन् । हाल महासंघको सुर्खेत कार्यसमितिमा पहिलो पटक तीन जना दलित पत्रकारहरु सहभागी छन् । पञ्चायतकालदेखि हालसम्मको इतिहास हेर्दा सुर्खेती पत्रकारितामा दलित पत्रकारको योगदान निकै गर्भिलो छ । दलित पत्रकारहरुले पनि सुर्खेतको पत्रकारितालाई अगाडि बढाउन ठूलो योगदान गरेका छन् । यसरी सुर्खेतमा दलित पत्रकारको गौरवपूर्ण इतिहास र आशलाग्दो भविष्य देखिन्छ । अब दलित समुदायले भोगेका समस्या, अन्याय, अत्याचार र विभेदका बिरुद्धमा दलित पत्रकारहरुले कमलको माध्यमबाट आवाज उठाउन सक्छन् भन्ने देखिन्छ । यद्यपी आमसञ्चार माध्यममा दलित पत्रकारहरुको जति सहभागिता हहुनुपर्ने हो त्यति सहभागी हुन सकेका छैनन् । एकातिर चुनौतीको पेशा र अर्काे तर्फ आर्थिक अभाव जस्ता कारणहरु पनि दलित पत्रकारहरुलाई पत्रकारितामै टिकीरहन र बिकी रहन चुनौति भने पक्कै छ । त्यसैले मिडियामा दलितहरुको सहभागीताप्रति धेरै खुसी हुनुपर्ने अवस्था भने छैन । आगामी दिनमा उनीहरुको सहभागिता बढाउन सरोकारवाला पक्षहरुको हौसला खाँचो पर्दछ भने आर्थिक रुपमा सवल बनाउने योजनाहरुको आवश्यकता छ । समग्र पत्रकारितामा टिक्न नसक्नुका प्रमुख कारण भनेको न्युनतम पारिश्रमिक नपाउनु, विज्ञापनको बजार नहुनु, मिडियाको निरन्तरता नहुनु, यहि क्षेत्रमा रोजगारीको ग्यारेन्टी नहुनु जस्ता विषय नै हुन् ।
टेकेन्द्र विश्वकर्मा । ७ जेष्ठ २०८१, सोमबार १५:०४