भिजिट कर्णाली यातायातले संचालनमा ल्यायो स्कारपियो गाडीहरु

सुर्खेत। कर्णाली प्रदेशमा भिजिट कर्णाली यातायात प्रालिले एसी हिटर लगजरी सिटसहितको स्कारपियो संचालनमा ल्याएको छ । नयाँ कम्पनी खडा गरेर समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णालीु नाराका साथ स्कारपियो सेवा सुरु गरेको हो ।

प्रदेशको पर्यटन प्रवद्र्धन टेवा पुग्ने उद्देश्यसहिच स्कारपियो गाडीहरु संचालनमा ल्याइएको प्रालीका अध्यक्ष प्रकाश कुमार शाहीले जानकारी दिए । यातायात प्रालिबारे आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।

अध्यक्ष शाहीका अनुसार १ करोडको शेयर लगानीमा यातायात प्रालि संचालनमा ल्याइएको र अहिले १८ वटा स्कारपियो गाडीहरु रहेका छन्। ५२ लाखदेखि ६७ लाखसम्मका गाडीहरु रहेको पनि उनले बताए ।

विशेषगरी पर्यटकीय स्थलहरु मुगुको रारा, जुम्ला चन्दननाथ, कालिकोटको पचालझरना, दैलेख पंचकोशी, महावुधाम लगायतका प्रमुख पर्यटकीय स्थलहरुमा संचालन हुने गरी पर्यटक र यात्रुहरुलाई केन्द्रविन्दुमा राखिएको उनले बताए।

साथै अनलाइन टिकेट बुकिङ सेवा पनि तयारी भइरहेको छ । गाडीमा कर्णालीका प्रमुख पर्यटकीय स्थलहरूको तस्वीर तथा स्टिकरहरु टाँस गरिने छ, उनले भने, यसले प्रदेशको पर्यटनको प्रसार प्रचारमा पनि टेवा पुग्ने अपेक्षा राख्दछौँ।

सुर्खेत उपत्यकाभित्र यात्रुलाई स–शुल्क घरदैलो सेवा समेत दिइएको छ भने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको अध्यक्ष शाहीले बताए ।