डा. डम्बर खड्काको भावुक सन्देश ‘सन्जुको सपना’ पुनर्निर्माण सम्पन्न गरे

सुर्खेत । भदौ २४ गते भएको जेनजी आन्दोलनको नाममा आफ्नो घरमा आगजनी गरे पश्चात डा.डम्बर खड्काले सामाजिक संजाल फेसबुकमा भावुक स्टाटस पोष्ट गर्दै स्वर्गीय जीवनसाथी डा.‘सन्जुको सपना’को घर पुनर्निमाण सम्पन्न गरेको जानकारी दिएका छन् ।

डा. डम्बर खड्काले शनिवार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नी स्वर्गीय जीवनसाथी डा. सन्जु खड्काको ‘सपनाको घर’ पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएका हुन् ।

उनले २४ भदौ २०८२ लाई “जेन–जीको आवरणमा हाम्रो परिवारमाथि भएको सुनियोजित षड्यन्त्रको कालो दिन” भन्दै उल्लेख गरेका छन् । सोही दिन खण्डहर बनेको घर अहिले परिवार, आफन्त, देश–विदेशका शुभचिन्तक तथा विभिन्न संस्थागत सहयोगबाट पुनर्निर्माण सम्पन्न भएको उनले बताएका छन् ।

डा. खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै पीडादायी घटनाले नै आफूहरूलाई पुनर्निर्माणको साहस दिएको उल्लेख गर्दै स्वर्गीय डा. सन्जु खड्काको सम्मान र सम्झनाका लागि घर पुनः निर्माण गर्नु “अनिवार्य” रहेको बताएका छन् ।

उनले प्रदेश अस्पताल परिवार, श्रीकृष्ण संस्कृत तथा साधारण मावि परिवार, छरछिमेक तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् । “सन्जुको सपना जीवन्त बनाउन सकेकोमा मेरो मनले सन्तोषको श्वास फेरेको छ,” उनले लेखेका छन् ।

स्टाटसमा उनले घटनालाई इतिहासले निष्पक्ष मूल्यांकन गर्ने उल्लेख गर्दै आफ्नो परिवारमाथि भएको नियोजित षड्यन्त्र इतिहासका पानामा निन्दनीय अध्यायका रूपमा अंकित हुने दाबी गरेका छन्।

यस क्रममा उनले आफ्ना दाजु पूर्णबहादुर खड्काको नाम जोडेर भएको घटनाका दोषीलाई इतिहासले क्षमा नगर्ने उल्लेख गरेका छन् ।

अन्त्यमा, सुख–दुःखमा साथ दिने सबैप्रति उनले सम्मान र कृतज्ञता प्रकट गरेका छन्।

यस्तो डा.खड्काको स्टाटस जस्ताको त्यस्तै ।

‘सन्जुको सपना’ जीवन्त बन्यो, सबैप्रति सम्मान र आभार !

२४ भदौ, २०८२ । जेन–जीको आवरणमा हाम्रो परिवारमाथि भएको सुनियोजित षड्यन्त्रको कालो दिन । त्यही दिन मेरी प्रिय जीवनसाथी स्वर्गीय डा. सन्जु खड्काको ‘सपनाको घर’ खण्डहर भएको थियो । त्यो पीडादायी कथा शब्दमा व्यक्त गर्न सकिँदैन ।

सायद, त्यो पीडाभित्र सन्जुको शक्ति लुकेको थियो । त्यही शक्तिले हामीलाई खण्डहर घर पुनर्निर्माण गर्ने साहस दियो । सन्जुको सम्मान र सम्झनाको लागि पनि यो काम अनिवार्य थियो । मेरो परिवार, आफन्त, देश–विदेशमा रहनुभएका शुभचिन्तक, प्रदेश अस्पताल परिवार, श्रीकृष्ण संस्कृत तथा साधारण मावि परिवार, छरछिमेक सबैको साथ र सहयोगमा घर पुनर्निर्माण सम्पन्न भएको छ । सन्जुको सपना जीवन्त बनाउन सकेकोमा मेरो मनले सन्तोषको श्वास फेरेको छ । यस अवसरमा मेरो जीवनमा खुसी फर्काउन सहयोग गर्नुहुने सबैप्रति हार्दिक सम्मान र आभार अर्पण गर्दछु ।

हरेक व्यक्ति, समाज र राष्ट्रको जीवनमा घटना–परिघटना भइरहन्छन् । त्यसको निश्पक्ष मूल्यांकन इतिहासले गर्ने गर्दछ । यस घटनाको सन्दर्भमा पनि– म र हाम्रो परिवारमाथि भएको नियोजित षड्यन्त्र इतिहासको पानामा निन्दनीय अध्याय लेखिनेछ । विशेषगरी आदरणीय दाजु पूर्णबहादुर खड्का, जसले जीवनभर निष्ठाको राजनीति गर्नुभयो, सुर्खेती समाजको सेवा गर्नुभयो, राष्ट्रिय राजनीतिको मियो बन्नुभयो, उहाँलाई जोडेर भएको घटनाका दोषिलाई इतिहासले क्षमा दिनेछैन ।

अन्त्यमा,
सुख, दुःखमा मलाई साथ–सहयोग, माया र विश्वास प्रकट गर्नुहुने सबैप्रति उच्च सम्मान र आभार !