केन्द्रीकृत मानसिकताले प्रदेशमा भनेअनुसार काम गर्न सकिएनः मुख्यमन्त्री कँडेल

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले केन्द्रीकृत मानसिकताका कारण प्रदेशहरूले भनेअनुसार काम गर्न नसकेको बताएका छन् । संघले प्रदेशलाई आफ्नै युनिटका रूपमा लिएका कारण काम हुन नसकेको उनको भनाइ छ ।

मंगलबार काठमाडौँमा आयोजित कान्तिपुर कन्क्लेभमा बोल्दै उनले केन्द्रीकृत मानसिकता त्यागे मात्र प्रदेशले प्रभावकारी रूपमा काम गर्न सक्ने बताए । ‘प्रदेश सरकारलाई युनिटका रूपमा चलाउने मानसिकता छ,’ उनले भने, ‘संरचनागत र नीतिगत सुधार गर्न सकियो भने, केन्द्रीकृत मानसिकता बदल्न सकियो भने सुधार सम्भव छ । संघ सरकारको मानसिकता संविधानअनुसार नहुँदा जनताले उठाएका प्रश्न सम्बोधन गर्न अप्ठ्यारो परेको हो । प्रदेशप्रति प्रश्न उठेको छ, त्यसलाई सम्बोधन गर्न बहस चलाउनु आवश्यक छ ।’

उनले पुराना कानुन परिमार्जन गर्न सके प्रदेशहरूले राम्रो काम गर्न सक्ने बताए । ‘कानुन परापूर्वकालका छन् । जो व्यक्ति आए पनि यही अवस्थामा भनेजस्तो काम गर्न सकिँदैन,’ उनले थपे, ‘बदल्ने हो भने प्रदेशले गर्ने काम गर्न सक्छ । हामीले तीन तहको सरकार सञ्चालन भएको आठ वर्ष बितिसक्यो । संरचनागत र नीतिगत सुधार गर्नुपर्ने अवस्था छ ।’

उनले २३ गतेअघि संघ सरकारको नेतृत्व गरेको पार्टी र आफू मुख्यमन्त्री भएको पार्टी एउटै भएको उल्लेख गर्दै आन्तरिक छलफलमै यी विषय उठाएको बताए । ‘आफ्नै पार्टीको संघीय सरकारले किन काम गरेन भन्ने प्रश्न उठ्छ,’ उनले भने, ‘हामी सबैमा केन्द्रीकृत मानसिकता छ । आठ वर्ष बितिसक्दा पनि संविधानअनुसार कतिपय काम नगरिएकाले प्रदेशप्रति प्रश्न उठेको छ ।’

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशमा भौतिक पूर्वाधारका काम भएकै कारण सबै जिल्लामा एकै दिनमा पुग्न सकिने अवस्था बनेको उल्लेख गर्दै जेनजी आन्दोलनको परिणाम उद्देश्यभन्दा फरक आएको तर्क गरे ।

‘हामीले राम्रो काम गरेका छौं । कर्णालीमा राम्रो काम भएको भए घटना नहुनुपर्ने हो,’ उनले भने, ‘सुशासनलगायतका क्षेत्रमा सुधार भएको छ । बजेट खर्च र संरचनागत सुधार भएको अवस्था हो । भदौ २३ र २४ का घटनामा उद्देश्य जतिसुकै राम्रो भए पनि परिणाम अर्कै निस्कियो । सबैको मानसिकता केन्द्रीकृत भएकाले उठाइएका माग सम्बोधन हुने अवस्था छैन ।’

उनले चुनावी सरकारले प्रदेशको विधायिका अधिकारमा हस्तक्षेप गरेको दाबी गरे । ‘जेनजीको रापतापमा बनेको सरकारले प्रदेशको विधायिकाको अधिकारमा हस्तक्षेप गरेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीसँग कुरा गरेपछि सच्याउने कुरा भएको छ । प्रदेश सरकार प्रभावित भएको अवस्था छ । हामीले संविधानको मर्मअनुसार सोच र दृष्टिकोण राख्यौं भने सकारात्मक परिणाम ल्याउन सकिन्छ ।’

उनले आफ्नै दलको संघमा सरकार हुँदासमेत आवश्यक कानुन नबनाएकाले धेरै प्रश्न उठेको बताए ।

यस्तै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशमा भौतिक पूर्वाधारका काम भएकै कारण सबै जिल्लामा एकै दिनमा पुग्न सकिने बताए । यस्उँतै उनले जेन(जी आन्दोलनको परिणाम उद्देश्यभन्दा फरक आएको तर्क गरेका छन् ।

‘हामीले राम्रो काम गरेका छौँ । कर्णालीमा राम्रो काम गरेको भए घटना नहुनुपर्ने हो । सुशासनलगायतका क्षेत्रमा सुधार भएको अवस्था हो । बजेट खर्च र संरचनागत सुधार भएको अवस्था हो,’ उनले भने, ‘भदौ २३ र २४ का घटनामा उद्देश्य जतिसुकै राम्रो भए पनि परिणाम अर्कै निस्कियो । सबैको मानसिकता केन्द्रीकृत भएकाले हामीले उठाएका माग सम्बोधन हुने अवस्था छैन ।’

उनले चुनावी सरकारले प्रदेशको विधायिका अधिकारमा हस्तक्षेप गरेको बताए ।