जनयुद्ध दिवसको शुभकामना दिदै नेता शाहीको फागुन २१ को निर्वाचनमा सहयोगको अपिल

कालिकोट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावसाली नेता एवं कालिकोट प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र बहादुर शाहीले ३१ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्ति गरेका छन् ।

शुभकामना सन्देशमा नेता शाहीले देशमा क्रान्तिकारी परिवर्तनका निम्ति महान् जनयुद्धमा सहभागी भई ज्यानको आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, जनयुद्धका क्रममा बेपत्ता पारिएका, घाइते भएका योद्धाहरू तथा तिनका परिवारजनप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

उनले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको उल्लेख गर्दै ०६२÷६३ को संयुक्त जनआन्दोलनपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको स्मरण गरेका छन् । समावेशी समानुपातिक प्रतिनिधित्व, दलित, महिला तथा सीमान्तकृत समुदायका अधिकारको सुनिश्चितता र तीव्र आर्थिक विकासमार्फत समाजवादतर्फ अग्रसर हुनु आजको प्रमुख राजनीतिक कार्यभार रहेको उनको भनाइ छ ।

शाहीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । साथै, उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कालिकोटबाट आफूलाई विजयी गराउन मतदातासमक्ष अपिल गरेका छन् ।

शाही माओवादी जनयुद्धकालको सुरुवाती देखि कालिकोटमा स्थापित नेता मानिन्छन् । साथै उनी संसदीय राजनीतिको परिपक्क नेताको रुपमा आफ्नो छवि बनाएका नेताको रुपमा परिचित छन् । उनले कालिकोटमा माओवादी युद्धकालदेखि शान्ति प्रक्रियासम्म आउँदा उनले कालिकोट विकासको निम्ति महत्वपूर्ण भूमिका खेलेका नेता हुन् ।