प्रतिनिधिसभा निर्वाचन: पलाताले अब सचेत निर्णय गर्नैपर्छ


आदरणीय पलाताबासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण इष्टमित्रहरू!
देशमा फेरि प्रतिनिधिसभाको निर्वाचनको माहोल छ। प्रतिनिधिसभा केवल सांसद छान्ने प्रक्रिया मात्र होइन, यो त हाम्रो भविष्यको मार्गचित्र कोर्ने थलो हो। त्यही ठाउँ हो जहाँ संविधानका मूल्यहरू जोगाइन्छन् र विकासका प्राथमिकता तय गरिन्छन् अनि राज्यको स्रोत–साधनको बाँडफाँट गरिन्छ। तर विडम्बना, वर्षौंदेखि चुनाव आउँछ–जान्छ, भाषण गुञ्जिन्छ, प्रतिबद्धता बाँडिन्छ तर मेरो जन्मभूमि पलाता उस्तै पीडामा, उही विकासको पर्खाईमा उभिएको छ।
आज पनि हाम्रो गाउँमा पिउने पानीको सुनिश्चितता छैन। धारा सुकेका छन्, ट्यांकी अधुरा छन्, योजना कागजमै सीमित छन्। सामान्य टाउको दुख्दा औषधि पाउने स्वास्थ्यचौकीको अभाव छ। गर्भवती आमाहरू र गम्भीर बिरामीहरूलाई डोको र स्टेचरमा बोक्दै घण्टौँ हिँड्नुपर्ने बाध्यता अझै हटेको छैन। गुणस्तरीय शिक्षाका लागि बालबालिका टाढा जान बाध्य छन्। यातायातको अभावले बजार, सेवा र अवसर सबै टाढा धकेलिएका छन्।
कति चुनाव आयो, कति नेता आए। खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगार, सडकलाई जोडेर हामीमाझ बाँडिएका आश्वासन हरेक चुनावमा संगीतको शैलीमा हाम्रो कानमा गुञ्जिरहे तर व्यवहारमा कुनै योजनाले सार्थकता पाएनन् । के अँझै पनि जनता नसच्चिने त ? के हामी फेरि उही पुरानै गल्ती दोहोर्‍याउने हो त ?

हामीले आशा नगरेका होइनौँ। कालिकोटले एकपटक मुख्यमन्त्री पायो। छिमेकी पचालझरना गाउँपालिका बाट नेतृत्व उठ्दा हामीलाई पनि लाग्यो कि अब त हाम्रो गाउँको पनि भाग्य खुल्ला भनेर तर विकासको गति अपेक्षाअनुसार बढेन। आशा पलायो, तर पूरा हुन सकेन।
हाम्रो पलातामा वर्षौंदेखि अधुरा र अलपत्र योजनाहरू छन्—
१) बुड्ने खानेपानी योजना
२) औलाखोला जलविद्युत आयोजना
३) घोडेकाँध–कालाजगर सडक
४) पलाता पुलाहा हुँदै जुम्ला ओदि सडक
५) पताला हुँदै रारा फास्ट ट्र्याक
६) मोहोर पक्की पुल
७) किच–तल्सेरी खानेपानी आयोजना
८) दुर्सी गाड जलविद्युत आयोजना
९) पलाता–४ कहर्देव क्याम्पस
यी योजना केवल कागजका अक्षर बनेर सीमित हुनु हुँदैन। यी त हाम्रो भविष्यका आधार हुन्, हाम्रो सन्तानको शिक्षा, स्वास्थ्य, गाउँमा खानेपानी र सिंचाईको पहुँच, विद्युतको पहुँच, सहज यातायात सुविधालगायत विषय नै हाम्रा सपना हुन् ।
अब फेरि यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन हाम्रो ढोकामा आइपुगेको छ। यो केवल भोट हाल्ने दिन मात्र होइन, यो आत्ममूल्यांकन गर्ने क्षण हो। हामीले आफैलाई सोध्नुपर्ने बेला आएको छ, के हामी फेरि मिठा मिठा आश्वासनमा फस्ने कि यसपटक विवेक, अनुभव र उत्तरदायित्वलाई प्राथमिकता दिने हो ?
पार्टीभन्दा माथि उठेर, व्यक्तित्वको स्वच्छता, काम गर्ने क्षमता र दृढ इच्छाशक्ति हेरेर नेतृत्व छान्नुपर्छ। हामीलाई त्यस्तो प्रतिनिधि चाहिएको छ, जसले संसदमा उभिएर गर्वका साथ “म पलाताको आवाज हुँ” भन्न सकोस्। जसले बजेट विनियोजनमा, नीतिनिर्माणमा र विकास योजनाको प्राथमिकतामा हाम्रो गाउँको मुद्दा राख्न सकोस्।
हामी चुक्यौँ भने पछुतो मात्र बाँकी रहनेछ। तर यदि सचेत निर्णय गर्‍यौँ भने, परिवर्तन सम्भव छ। परिवर्तन केवल नाराले हुँदैनस त्यो हाम्रो मतदानको सही प्रयोगबाट हुन्छ।
आउनुहोस्, हामी सबै मिलेर पलाताको उज्यालो भविष्यका लागि एकजुट बनौँ। हाम्रा बालबालिकाले अवसर खोज्दै गाउँ छोड्न नपरोस्, आमाबुबाले उपचारका लागि जीवन जोखिममा नराख्नुपरोस्, युवाहरू रोजगारीका लागि विदेशिन बाध्य नहुन् यही हाम्रो साझा सपना हो।
पलाताको मुहार फेर्ने जिम्मेवारी कसैको एक्लो काँधमा होइनस त्यो हामी सबैको हातमा छ। यसपटक सोचेर, बुझेर र दूरदृष्टिसहित निर्णय गरौँ।
पलाता केवल भूगोल होइन—यो हाम्रो भावना, पहिचान र अस्तित्व हो।
धन्यवाद ।

चिनराज बुढा (सन्तोष)
पताला गाउँपालिका–४, कालिकोट
हाल कोहलपुर नगरपालिका–३, बाँके