खड्ग बहादुर विश्वकर्माले जातियताको कुरा गरेर भ्रम फैलाउदै छन्–विष्णु बहादुर विश्वकर्मा

कालिकोट । राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णु बहादुर विश्वकर्माले विप्लव नेतृत्वको नेकपा (माओवादी )का नेता खड्ग बहादुर विश्वकर्माले चुनावको समयमा जातियताको कुरा गरेर भ्रम छर्न खोजिरहेको आरोप लगाएका छन् ।

कालिकोटको रास्कोटमा मंगलवार दलित मुक्ति मोर्चा कालिकोटले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् ।

विप्लव नेतृत्वको नेकपा (माओवादी)पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि कालिकोटबाट उम्मेदवार बनेका विश्वकर्माको प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीसँग हुने भन्दै उनले आफ्नो आफ्नो नेपाली कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनको परिणामले नै विप्लव नेतृत्वको पार्टी नेकपा (माओवादी)को राजनीतिक हैसियत स्पष्ट पारेको भन्दै नेता विश्वकर्माले नेपाली कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा र के आफुले त्यो पार्टीलाई कुनै गणना नगरेको बताए ।
“जिल्लाभरी उम्मेदवारी दिँदा पनि एक जना सदस्य जित्न नसक्ने पार्टीले अहिले माननीयको चुनाव जित्ने दाबी गर्नु यथार्थपरक देखिँदैन,” उनले भने ।

विश्वकर्माले विगतमा १२ वर्षसम्म जंगलमा सशस्त्र संघर्ष गरेको समूह अहिले संसदीय राजनीतिमा आएको उल्लेख गर्दै जनसमर्थन र विश्वास चुनावी परिणामबाट प्रमाणित हुने बताए ।

उनले सानो राजनीतिक आधार हुँदाहुँदै ठूलो हल्ला गरेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए । “कतै जातीयता त कतै क्षेत्रीयताको नाममा भ्रम फैलाउने काम भइरहेको छ,” उनले भने, “मुक्ति र परिवर्तन जातीय वा क्षेत्रीय द्वन्द्वबाट सम्भव हुँदैन, राष्ट्रिय एकता र साझा उद्देश्यबाट मात्र सम्भव हुन्छ ।”

उनले जनतालाई भ्रममा नपरी विवेकपूर्ण निर्णय गर्न आग्रह समेत गरेका थिए।