जुम्लाको बारेकोटडाँडामा पहिरो खस्दा सात जनाको मृत्यु

सुर्खेत । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोमा परेर जुम्लामा ७ जनाको मृत्यु भएको छ । जुम्ला सदरमुकाम खलङ्गादेखि उत्तर–पश्चिममा पर्ने कनकासुन्दरी गाउँपालिका– बारेकोटडाँडास्थित घरमा खसेको पहिरोमा परेर दुई परिवारका सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घरधनी ५५ वर्षीय गणेशबहादुर शाही, २२ वर्षीय रमेशबहादुर शाही, २२ वर्षीय पानसरा शाही, अन्दाजी ९ वर्षीय अनमोल शाही, ६ वर्षीय मिलन शाही, २२ वर्षीय विद्या शाही र छिमेकी २४ वर्षीय सुरेन्द्र हमाल रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी माधव श्रेष्ठले जानकारी दिए।

पहिरोमा परेर ५० वर्षीय सरस्वती हमाल र उमेर नखुलेका रामबहादुर हमालको जिवितै उद्दार गरिएको छ । तर सरस्वतीको अवस्था गम्भीर रहेको र उनीहरुको स्थानीय मेडिकल गोठीज्यूलामा उपचार भइरहेको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले जानकारी दिए।

घाइतेहरुको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वा सुर्खेत लैजान हेलिकोप्टर माग गरिएपनि खराव मौसमका कारण समस्या भएको अध्यक्ष आचार्यले बताए। मृत्यु भएका हमाल आफ्नो घरमा पहिरो जाने डरले परिवारसहित शाहीको घरमा सुत्न गएको बेला आज विहान ४ बजे पहिरो खसेको अध्यक्ष आचार्यको भनाई छ । पहिरोका कारण बारेकोटडाँडाका थप आठ घरहरु पहिरोको जोखिम देखिएपछि नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।