गठबन्धनमा असहमति भन्ने छैन – प्रचण्ड

सुर्खेत, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता साझेदार गठबन्धन दलहरुमा कुनै असहमती नभएको बताएका छन् ।

शुक्रवार पार्टी प्रशिक्षणको लागि वीरेन्द्रनगर सुर्खेत आइपुगेका प्रचण्डले प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

गठबन्धन भित्र आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको बारेमा कुन दलले कति सिट लिने भन्ने विषयमा करिब करिब अन्तिम टुङ्गोमा सहमति भइसकेको भन्दै प्रचण्डले अब प्रदेश सभाको सिट संख्या र कुन दलले कताको सिट लिने भन्ने विषयमा दलहरु सहमति गर्न लागेको बताए ।

उनले आउने चुनावमा नेकपा (समाजवादी) पार्टीसँग पार्टी एकताको लागि पहल भइरहेको भन्दै प्रचण्डले चुनावमा जादा भने गठबन्धन भए पनि आफ्नो आफ्नो चुनाव चिन्ह लिएर चुनावमा जाने बताए ।

‘कर्णाली प्रदेश माओवादी पार्टीको आधार इलाका हो हिजो एमालेसँग सहमति गर्दा केहि प्राविधिक गल्ती भएको छ,’ ‘प्रचण्डले भने,‘संघ र प्रदेशमा सन्तुलित भएर जाने हो,।’ अहिलेको अबस्थामा सन्तुलन मिलाउनको लागि जुन दलको पकड क्षेत्र भए पनि संघमा एक दलले रोजेमा प्रदेशमा अर्को दललाई भाग पार्ने गरी सहमति हुन लागेको उनले बताए ।