नेता भण्डारीको मुख्यमन्त्री शाहीलाई चिठी

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा काननु मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई चिठी लेख्दै आफुले दर्ता गराएका महत्वपुर्ण विधेयकहरु किन तुहाइयो भन्ने यक्ष प्रश्नहरुको यथार्थपरक जवाफ जुम्ली जनतालाई दिन आग्रह गरेका छन् ।

मुख्यमन्त्री शाही जुम्ला भ्रमणमा रहेका बेला सामाजिक संजाल फेसबुक पेजमा चिठी लेख्दै नेता भण्डारीले कर्णाली प्रदेशसभामा दर्ता भएका सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक किन तुहाइदैछ भन्ने प्रश्न जनताहरुले तारन्तर गरिरहेका बेला त्यहि भूमिमा भ्रमणमा रहेका मुख्यमन्त्री शाहीलाई जनताको प्रश्नको उत्तर दिएर मात्रै फर्किन आग्रह गरेका हुन् ।

नेता भण्डारीले प्रदेश सरकारको नीति कार्यक्रम र बजेटमा उल्लेख नभएको र निर्वाचन आचार संहिता लागु भइसकेको अवस्थामा प्रशिक्षण केन्द्र स्थापना कसरी हुन सक्ला भन्दै प्रश्न गरेका छन् । उनले प्रशिक्षण केन्द्र स्थापना गर्ने हो भने अर्को नयाँ स्थान चयन गर्दा उपयुक्त हुने भन्दै सुझाब समेत दिएका छन् ।

मुख्यमन्त्री शाहीको कार्यको विरोध गर्दै नेता भण्डारीले मुख्यमन्त्री शाहीलाई प्रश्न गर्दै लेखेका छन् ‘मुख्यमन्त्री ज्यु, तपाइको यो कार्य गाडी भीरमा खसालेर साइकल वितरण गरे जस्तो भएन र !’

नेता भण्डारीले मुख्यमन्त्री जीवन बहादुर शाहीलाई लेखेको चिठी यस्तो छ

माननीय मुख्यमन्त्री ज्यु,
नमस्कार !

आज तपाई जुम्ला जिल्लास्थित नेपाली भाषाको उद्गम स्थल अर्थात् खस सभ्यताको केन्द्र ऐतिहाँसिक सिंजा उपत्यकाको राजकीय भ्रमणमा हुनुहुन्छ भन्ने खबरले खुसी नै तुल्याएको छ । तर केही प्रश्नहरु मस्तिष्कमा नाचिरहेका छन् । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक किन तुहाइदैछ भन्ने प्रश्न जनताहरुले तारन्तर गरिरहेका छन् । तपाई स्वयं सरकार प्रमुख त्यही भुमीमा पाइला टेकेकाले ती महत्वपुर्ण विधेयकहरु किन तुहाइयो भन्ने यक्ष प्रश्नहरुको यथार्थपरक जवाफ दिनु हुनेछ भन्नेमा बिश्वस्त छुँ ।

सिंजा गाउँपालिका १ मा प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न कर्णाली प्रदेश सरकारको क्याविनेटबाट भएको निर्णय कार्यान्वयन नभएकोमा जनताले गुनाशो गरिरहेका छन् । जनगुनासो निवारण हुनेमा आशावादी छुँ । कनकासुन्दरी गापाको खिच्चने मा विशेष आर्थिक क्षेत्र स्थापनार्थ संघिय सरकारबाट निर्णय भएको र आंशिक कार्यान्वयन पनि भएको जानकारी गराउदछुँ । यद्यपी कार्यान्वयनको गति धिमा छ । त्यही स्थानमा कर्मचारी प्रशिक्षण केन्द्र स्थापना गर्न तपाई स्थलगत अवलोकन गर्दै हुनु हुन्छ भन्ने सुन्नमा आएको छ । २ महिना अगाडि मात्रै पारित प्रदेश सरकारको नीति कार्यक्रम र बजेटमा उल्लेख नभएको र निर्वाचन आचार संहिता लागु भइसकेको अवस्थामा प्रशिक्षण केन्द्र स्थापना कसरी हुन सक्ला ? प्रशिक्षण केन्द्र स्थापना गर्ने हो भने अर्को नयाँ स्थान चयन गर्दा उपयुक्त होला कि !

मुख्यमन्त्री ज्यु, तपाइको यो कार्य गाडी भीरमा खसालेर साइकल वितरण गरे जस्तो भएन र !

२४ भाद्र २०७९ तपाइको उही
नरेश भण्डारी