कर्णालीको ट्यालेन्ट हन्ट कात्तिक ३० गते

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कात्तिक ३० गते शुक्रबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ।

कर्णाली याक्सका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर कर्णालीका प्रतिभावान् खेलाडी छनोट गर्नेछन्। ‘कर्णाली याक्सले कर्णालीको प्रतिभावान् खेलाडी शुक्रबार छनोट गर्दै छ,’ प्रशिक्षक मल्लले जानकारी गराए, ‘हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई पनि समेट्ने प्रयास गर्नेछौँ।’

कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले ट्यालेन्ट हन्ट वीरेन्द्रनगरको कर्णाली रंगशालामा हुने जानकारी गराए।

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन्। यस्तै, टिममा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्।

कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ। वेस्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ।

नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्।

टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटेल रहेको छ। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ।